भोकले आत्महत्या प्रयास

4 June, 2020

शुभलक्ष्मी विश्वकर्मा

 

हेटौंडा : हेटौंडा–४ का एक मजदुरले यसै साता आत्महत्या प्रयास गरे। छिमेकीले तत्काल थाहा पाएपछि उद्धार गरी उनलाई सान्त्वना मात्र दिएनन्, केही रकम जम्मा गरी दाल, चामलको जोहो गरिदिए। लकडाउनका कारण दैनिक ज्यालादारीको काम गर्न नपाएपछि ती अधबैसे पुरुषले आत्महत्या प्रयास गरेका थिए।

‘मजदुरी गरेर जीविका चलाउँदै आएका उनले आफ्ना ससाना चार छोराछोरीलाई यो खाऊ भन्ने चीज केही दिन नसकेपछि आफू मर्ने निधो गरेका रहेछन्’, स्थानीय मिलन श्रेष्ठ भन्छन्। 

लकडाउनका कारण काम बन्द भएपछि दैनिक ज्यालादारी गरी जीविका चलाउँदै आएका मजदुरको दैनिकी कष्टकर बन्दै गएको छ। संक्रमण फैलन नदिन सरकारले लकडाउन जारी राखेका बेला यस्ता विपन्न परिवारलाई सरकारले स्थानीय तहमार्फत राहत दिने निर्णय गरे पनि कतिपय ठाउँमा सेवा पुग्न नसक्दा उनीहरू मारमा छन्। राहतमा प्राप्त खाद्यान्न सकिँदा पनि लकडाउन नखुलेपछि कतिपय भोकभोकै मर्ने अवस्थामा पुगेका छन्।

मकवानपुरमा मात्र संगठित र असंगठित गरी करिब १५ हजार मजदुर रहेको मजदुर सम्बद्ध संगठनहरूको अनुमान छ। ‘नेकपा, नेपाली कांग्रेस र अन्य राजनीतिक दलसम्बद्ध १० हजार मजदुर र बाँकी ५ हजार असंगठित मजदुर लकडाउनका कारण घरमै बस्न बाध्य छन्’, एकीकृत ट्रेड युनियन महासंघ मकवानपुरका अध्यक्ष गंगा भट्टराई भन्छन्, ‘सरकारले दिएको राहत पनि सबैले पाएका छैनन्। दैनिक बिहान–बेलुका काम गरेर खानुपर्ने मजदुरले सबैभन्दा बढी बाँच्नका लागि संघर्ष गरिरहनुपरेको छ।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024