सुरेशराज न्यौपाने
रोजगारीको प्रलोभन दिएर कुवेत लगायतका विभिन्न खाडी मुलुक पुर्याइदिने भन्दै दक्षिण भारतीय शहर बैंगलोरमा ३५ नेपाली महिलाको स्थानीय प्रहरीले उद्धार गरेको छ ।
१० डिसेम्बरमा उनीहरुलाई बैंगलोरको सुधा गेष्टहाउसबाट क्राइम ब्रान्चले उद्दार गरेको हो । उद्वारपछि हाल उनीहरुलाई बैंगलोरस्थित स्टेट हाउसमा राखिएको छ । वैदेशिक रोजगारको गिरोहले नेपालको परराष्ट्र मन्त्रालय, नयाँदिल्लीस्थित नेपाली दुतावासको नक्कली कागजात बनाएर नेपाली महिलाहरुलाई खाडी मुलुक उडाउने तयारी भइरहेको भन्ने भारतको इन्टेलिजेन्स ब्यूरोको सुचनाका आधारमा क्राइम ब्रान्चले महिलाहरू राखिएको स्थानमा छापा मारेको थियो ।
प्रहरीले उनीहरुबाट दलालहरुले बनाइ दिएको विभिन्न सरकारी कार्यलयका नक्कली कागजात समेत बरामद गरेको छ । तिनीहरुलाई त्यहाँ पुर्याएर राख्ने ६ जना दलालमध्ये तीन जनालाई पक्राउ समेत गरेको छ । दुई जनाको भने प्रहरीले खोजी गरिरहेको छ । उनीहरुले ३५ मध्ये २४ महिलाको पासपोर्ट समेत लगेका छन् ।
उद्वार गरिएका महिलाहरुलाई अदालती प्रक्रिया पछि नेपाल फर्काइने दिल्लीस्थित नेपाली दुतावासले जनाएको छ ।नेपाल सरकारले खाडी मुलुकमा नेपाली महिलाहरुलाई रोजगारीका लागि जान प्रतिबन्ध लगाएको छ ।
सरकारको उक्त प्रतिबन्धपछि वैदेशिक रोजगारको गिरोहले नेपाली महिलाहरूलाई भारतका विभिन्न सहरबाट उडाउदै आएका थिए । त्यसपछि नेपाल सरकारले खाडी लगायतका विभिन्न ८ मुलुकका लागि नो अब्जेक्शन सर्टिफिकेट (एनओसी) बिना उड्न नदिन भारत सरकारलाई औपचारिक आग्रह गरेको थियो ।
त्यही आग्रहका आधारमा पछिल्लो समय भारतीय एअरपोर्ट अर्थोरिटिले कडाइ गर्न थालेपछि दलालहरुले नक्कली एनओसी बनाएर भए पनि नेपाली युवा युवतीहरुलाइ विदेश पठाउने भन्दै भारत पुर्याउने गरेका छन् ।
करिब चार महिना अघि पनि खाडि मुलुक पठाउने भन्दै नयाँदिल्लीको मुनिर्कामा बन्धक बनाएर राखिएका ३७ महिलाको उद्वार गरिएको थियो ।