भारतको हरियाणाबाट साइकलमै १५औं दिनमा सप्तरी आइपुगे , अहिले क्वारेन्टाइनमा

3 April, 2020

देवराम प्रसाद यादव

सप्तरी, चैत २१ गते । भारतको विभिन्न स्थानमा आयोजित जमात तथा मजदूरीमा रहेकाहरु लुकिछिपी घर फर्किने क्रमसँगै कोरोनो भाइरसको जाखिम समेत सप्तरीमा बढ्दै गएको छ ।

फर्केकाहरु कतिपय सिधै स्वास्थ्य संस्थाहरुमा जाने गरेका छन् भने कतिपय लापर्वाही गरी उनीहरुलाई गोप्य रुपमा घरमै रहेकाले कोरोनाको जोखिम बढ्दै गएको हो । 

जानीजानी लापर्वाही गरेर परिवार, समाज र सिङ्गो देशलाई नै जोखिममा पार्नुभन्दा क्वारेन्टाइनमै रहेर पूर्ण रुपमा निको भएपछि मात्र ढुक्क भएर आफ्नो घर जाने सोचका कतिपय व्यक्तिहरु स्वःस्फूर्त रुपमा क्वारेन्टाइनमा बस्ने गरेका छन् । 

स्वःस्फूर्त रुपमा क्वारेन्टाइनमा बस्ने राजविराज नगरपालिका वडा नम्बर ११ फर्सैठका रामबिलास साह रहेका छन् । उनी विगत केही महिनादेखि भारतको यमुना नगरमा मजदूरी गर्दैआएका थिए । 

एक्कासी भारत सरकारले लक डाउन गरेपछि उनी कार्यरत रहेको कम्पनी समेत बन्द भयो । कम्पनी नै बन्द भएपछि उनीसहित त्यहाँ कार्यरत नेपाली मजदुरहरुको बिचल्ली भयो । उनीहरुलाई खानपिनमा समेत समस्या भएपछि करिब सयजना नेपाली तथा भारत विहार क्षेत्रका मजदुरहरुले नयाँ साइकल किनेर यात्रा गर्दै आ–आफनो घर आइपुगे छन् ।

भारतको हरियानास्थित यमुनानगरदेखि सप्तरीको राजविराज नगरपालिकाको एक हजार ४ सय ३८ किलोमिटर दुरी १५ दिन लगाएर साह घर आइ पुगेका छन् । उनी साइकलबाटै सीमावर्ती क्षेत्रमा त आए तर सीमा काट्ने कसरी ? भने चिन्ता थपियो । सीमामा प्रहरीको कडा निगरानी देखेर लुकेर गहुँ खेत हुँदै बिहीबार सीमा नाका काट्न सफल भयो । 

निरन्तर साइकल चलाएर गलेका साह जब घर पुगे अनि उहाँकी पत्नी कोशिलाले भनिन् आँगन नआउनु, कसैको जीउमा नछुनु, पहिला जचाउन जान्स् भनिन् । कोशिलाले आफ्ना पतिलाई बिहीबारै राजविराज नगरपालिका स्थित साइकृष्णा हस्पिटलमा रहेको क्वारेन्टाइनमा पुगिन् । 

ठाउँठाउँमा भारत सरकारले खानाको व्यवस्था गरेकाले, हामीहरु खाना खाँदै आराम गर्दै साइकल यात्रालाई निरन्तरता दियौं, खानपिनको समस्या भएन, ठाउँठाउँमा जाँच पनि गरिन्थ्यो ।’ दरभङ्गा कटेपछि खानपिनको समस्या भएको स्मरण सुनाउँदै उहाँले बाटोमा मर्नु भन्दा त आफ्नै जन्मभूमि र घरपरिवार सम्झेर साइकल यात्रा अगाडि बढाएको बताउनुभयो ।’ 

नेपाली मजदुरहरु अझैं भारतमा धेरै संख्यामा रहेकाले वैकल्पिक उपाय खोज्दै धमाधम घर फर्किने क्रममा रहेको साहले बताउनुभयो । आफुलाई ठाउँठाउँमा जाँच गरेकाले स्वस्थ रहेको जस्तो लागे पनि घरपरिवारलाई असुरक्षित बनाउनुभन्दा क्वारेन्टाइनमा दुई साता बस्नु नै ठिक हुने बुझेर क्वारेन्टाइनमा बसेको बताउनुहुन्छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024