पुस एकै महिनामा किन भित्रियो १ खर्ब ९२ अर्ब रेमिटेन्स?

4 February, 2026

Bijayaraj Khanal

पछिल्लो ३८ महिनादेखि नेपाल भित्रिने रेमिटेन्स मासिक एक खर्बभन्दा धेरै छ। पछिल्लो केही महिना यो दुई खर्ब हाराहारी नै हुन थालेको छ।

गत असोजमा पहिलो पटक मासिन रेमिटेन्स दुई खर्ब नाघेको हो। सो महिना दुई खर्ब एक अर्ब रूपैयाँ रेमिटेन्स नेपाल भित्रिएको थियो।

कात्तिकमा केही घटेर एक खर्ब ३३ अर्ब, मंसिरमा एक खर्ब ८३ अर्ब र पुसमा एक खर्ब ९२ अर्ब रेमिटेन्स भित्रिएको छ।

केही वर्षअघिसम्म वार्षिक सरदर १० खर्ब रेमिटेन्स भित्रिने गरेकोमा यो पटक ६ महिनामै १० खर्ब ६२ अर्ब रूपैयाँ पुगेको छ।

लामो बिदा हुने र धेरैले मान्ने चाड दसैं, तिहार असोज र कात्तिकमा पर्ने भएकोले पनि वर्षका अन्य महिनाहरूको तुलनामा यी महिनामा रेमिटेन्स भित्रिने दर उल्लेख्य बढ्छ। यही अनुसार बढेको थियो।

पुसमा पनि एक खर्ब ९२ अर्ब रेमिटेन्स भित्रियो।

पछिल्लो समय रेमिटेन्स यसरी बढेपछि निर्वाचन केन्द्रीत भएर अनौपचारिक क्षेत्रबाट पैसा भित्रिएको त होइन भन्ने आशंका गर्न थालिएको छ। राष्ट्र बैंक भने यसलाई स्वीकार गर्न तयार छैन।

बैंकहरूको कर्जा तिर्न पनि रेमिटेन्स रकम बढेको हुन सक्ने राष्ट्र बैंकका प्रवक्ता गुरू प्रसाद पौडेल बताउँछन्।

‘पछिल्लो समय विदेश जानेले ऋण तिर्ने प्रयोजनको लागि घरमा रकम पठाएका पनि हुन सक्छन्,’ पौडेलले भने, ‘डलरको बढेको भाउ, राम्रो कमाइ हुने मुलुकमा नेपाली जाने क्रम बढ्नु लगायतको कारण पनि रेमिटेन्स आउने दर बढेको हुनसक्छ।’

‘नेपाल जीवनस्तर सर्वेक्षण २०२२-२३’ अनुसार २०७९-८० मा रेमिटेन्स प्राप्त गर्ने घरधुरी कुल घरधुरीको ७६.८ प्रतिशत छ।

देश भित्रिने रेमिटेन्समध्ये सबैभन्दा धेरै ७२.४ प्रतिशत रकम घरायसी उपभोगमा खर्च हुने गरेको छ।

त्यस्तै, घरायसी खर्चपछि सबैभन्दा धेरै रकम रेमिटेन्स तिर्न प्रयोग हुने गरेको यसले देखाउँछ। १५.८ प्रतिशत रकम ऋण तिर्न प्रयोग हुन्छ।

आर्थिक वर्षको हरेक त्रैमासमा वा अर्धवार्षिक रूपमा तिर्ने गरेर ऋण लिएकाहरूले पुस मसान्त पैसा पठाउने प्रवृत्ति रहेको पनि पौडेल बताउँछन्।

सर्वेक्षणले पछिल्लो समय जापान जानेहरूले आफूले पठाउने रेमिटेन्स रकममध्ये ३५ प्रतिशत ऋण तिर्नको लागि पठाउने गरेको पनि जीवनस्तर सर्वेक्षणले देखाएको छ।

पहिले खाडी क्षेत्रमा धेरै नेपालीहरू वैदेशिक रोजगारीका लागि जाने गर्दथे। पछिल्लो समय तुलनात्मक रूपमा धेरै कमाई हुने भनिएका जापान, कोरिया, युरोपलगायतका मुलुक जाने नेपालीहरूको संख्या पनि बढेको छ।

पछिल्लो ६ महिनामा वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिनेको संख्या २.१५ प्रतिशतले बढेर चार लाख एक हजार पुगेको छ।

यसअघि पनि लाख ९३ हजारले श्रम स्वीकृति लिएका थिए।

जापान जान नयाँ श्रम स्वीकृति लिनेको संख्या ८ प्रतिशत र पुन श्रम स्वीकृति लिनेको संख्या ४२ प्रतिशत बढेको छ।

युरोपियन माल्टा, साइप्रस, पोल्यान जस्ता मुलुकमा पुनः श्रम स्वीकति लिने ८३ देखि दुई सय प्रतिशतसम्म बढेका छन्।

यी मुलुकका लागि नयाँ श्रम स्वीकृति लिने पनि १२ देखि ९८ प्रतिशतसम्म बढेका छन्।

२०८१ असोजमा एक डलर बराबर करिब एक सय ३४ रूपैयाँ थियो। यो पुसमा एक डलर बराबर एक सय ४४ रूपैयाँ थियो।

डलरको तुलनामा नेपाली रूपैयाँ करिब ७.४६ प्रतिशतले अवमूल्यन भएको छ।

यही कारण पनि नेपाल भित्रिने रेमिटेन्स रकम बढेको हुनसक्ने पनि पौडलको भनाइ छ।

हुनतः मासिक रूपमा भित्रिने रेमिटेन्स रकम डलरमा पनि बढेको छ।

यो मंसिरमा मासिक एक अर्ब २७ करोड डलर बराबर रेमिटेन्स भित्रिएकोमा पुसमा भने मासिक एक अर्ब ३३ करोड डलर भित्रिएको छ। यो चार प्रतिशतले बढेको हो।

केही वर्षदेखि बैंकहरूले अन्य निक्षेप खातामा भन्दा रेमिटेन्स खातामा चलनचल्तीको भन्दा एक प्रतिशत बढी ब्याज दिॅंदै आएका छन्।

यो कारण पनि रेमिटेन्स प्रोत्साहित भइरहेको हुनसक्छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024