पाँच महिनामा ११० किशोरी फिर्ता

24 December, 2018

रसुवागढी नाकाबाट पाँच महिनामा माइती नेपालले १ सय १० जना किशोरीलाई घर फिर्ता गरेको छ । उमेर नपुगेका, अभिभावकबिना केरुङ जान लागेका किशोरीलाई नाकाबाट घर फिर्ता गरिएको माइती नेपालले बताएको छ । संस्थाले सन् २०१८ मा सम्पन्न गरेको वार्षिक कार्यक्रमका बारेमा जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त कुरा सार्वजनिक गरेको हो । केरुङबाट महिलाको उद्धार गरिएको माइती नेपाल रसुवा जिल्ला कार्यक्रम संयोजक लालुमाया घलेले बताइन् ।

 

उनले भनिन्, ‘रोजगारीका लागि केरुङ जान लागेका किशोरीलाई माइती नेपालले नाकाबाट घर फिर्ता गरेको हो ।’ नाका सञ्चालनमा आएपछि रोजगारीका लागि केरुङ जाने क्रम बढ्दै गएको छ । यसको फाइदा दलालले उठाउन थालेका छन् । नाकामा कडाइ हुन थालेपछि किशोरी केरुङ लैजान रसुवागढी नाकामा दलाल सक्रिय भएको माइती नेपालले बताएको छ ।

 

एक जना किशोरी केरुङ लगेबापत दलालले १० देखि २५ हजारसम्म लिने गरेको खुलासा भएको छ । श्रीमान्–श्रीमती बनेर जाने जोडीलाई पनि विवाह दर्ताबिना जान रोक लगाइएको घलेले बताइन् ।

 

राम्रो आम्दानी हुने आसमा कामका लागि केरुङ जाने धेरै छन् । केरुङमा करिब पाँच सय किशोरी कार्यरत रहेका संस्थाले जनाएको छ । जसमा तीन सयको हाराहारीमा रसुवाका किशोरी हुन सक्ने माइती नेपालले बताएको छ ।

 

Published: 24 December 2018 | Kantipur

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024