‘नेपालीलाई दुर्व्यवहार गरे कारबाही’

23 September, 2017

कमल पन्थी

 

दसैं, तिहारलाई मध्यनजर राख्दै सीमावर्ती क्षेत्रमा भारतबाट घर फर्कनेमाथि सुरक्षाकर्मीले दुव्र्यवहार गरे कडा कारबाही गरिने भारतीय सुरक्षा अधिकारीले बताएका छन् । हरेक वर्ष चाडबाडको समयमा भारतीय सुरक्षाकर्मीले नेपालीमाथि गरिने दुव्र्यवहार, लुटपाटजस्ता काम भइरहेको प्रति नेपाली अधिकारीले कुरा उठाएपछि भारतीय अधिकारीले यस्तो प्रतिबद्धता जनाएका हुन्।

 

शुक्रबार भारत उत्तरप्रदेशको बहराइच जिल्ला नानापारास्थित ५९ एसएसबीको बाहिनीको सभाकक्षमा भएको बैठकमा भारतीय अधिकारीले त्यस्ता गतिविधि नहुने प्रतिबद्धता जनाएका हुन् । भारतीय सीमामा लुटिने, सुरक्षाकर्मीले विभिन्न बहाना बनाई दु:ख दिने घटनाप्रति गम्भीर भएको बहराइचका डीएम अमरदीप सिंहले जानकारी दिए । ‘यस्ता घटना हुँदैनन्,’ उनले कान्तिपुरसित भने, ‘कुनै प्रहरीले दुव्र्यवहार गरे कडा कारबाही हुनेछ ।’ सीमामा लागूऔषधको कारोबारी बढ्दै गएपछि दुवै मुलुकका सुरक्षा अधिकारीले त्यस्ता गतिविधि पहिचान गरी नियन्त्रण गर्न सहमति जनाएका छन् ।

 

भारतीय अधिकारीले जाली नोट र सीमामा आतंक फैलाउने कार्यप्रति नेपाली अधिकारीको ध्यानाकर्षण गराएका थिए । बहराइचका एसपी जुगल किशोरले प्रहरीले सीमामा अवैध रूपमा नेपालीसँग रकम असुलेको जानकारी पाएलगत्तै कारबाही गर्ने प्रतिबद्धता जनाए । ‘नेपाल–भारतबीचको सम्बन्धमा असर पार्ने कुनै पनि गतिविधि स्वीकार्य छैन,’ उनले भने, ‘चाडपर्व मात्र होइन अरू समयमा पनि भारतीय प्रहरीबाट हुने दुव्र्यवहार रोक्न कडाइका साथ प्रस्तुत हुन्छौं ।’

 

नेपाल–भारत सीमावर्ती सुरक्षा अधिकारीको बैठकले सीमामा भारतीय सुरक्षाकर्मीबाट हुने दुव्र्यवहार, मानव तस्करी, लागूऔषध ओसारपसार लगायत गतिविधि र जाली नोटको कारोबार रोक्न कडा निगरानी गर्न दुवै मुलुकका समकक्षीबीच सहमति भएको बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले बताए । भारतीय अधिकारीले तस्करका कारण भारतीय वन मासिँदै गएकाले यसलाई नियन्त्रण गर्न नेपाली सुरक्षा अधिकारीको सहयोग माग गरेका थिए ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024