कमाउन गएकी श्रीमती नफर्केपछि निपाने ५ का उद्धव मिजार हतास भएका छन् । निपाने नै माइती भएकी धनुषाको वीरेन्द्रबजारकी एक महिलाले दुई वर्षअघि काम लगाइदिने भन्दै श्रीमती नर्मदालाई दिल्ली लगेकी थिइन् । ‘गएपछि आजसम्म टेलिफोन र चिठीसमेत आएको छैन,’ मिजारले भने । चार लालाबालालाई छाडेर कमाउन हिँडेकी श्रीमती नर्फकंदा बिचल्ली भएको छ । तीन, तीन महिनामा आउने वीरेन्द्रबजारकी बलिठुली नाम गरेकी ती महिलालाई यतिखेर सोध्दा आफूलाई नर्मदाका बारे थाहा नभएको उत्तर मिजारले पाएपछि उनी चिन्तित छन् । ‘दिल्लीमा लगेर काम लगादिइएकी हुँ, त्यसपछि मलाई थाहा छैन’ भनेर श्रीमतीलाई लैजानेले भन्ने गरेको मिजारले बताए । ‘कमाउनका लागि म जान्छु भनेको थिएँ तर पुरुषको भन्दा महिलाले धेरै रकम कमाउन सक्ने भनेपछि नर्मदा तम्सिइन्,’ उनले भने, ‘दुई वर्षको छोरो छाडेर ठुलीकै पछाडि लागेर गएकी अहिले छोराले आमा खोइ भन्दा भक्कानो छुट्छ ।’ निपाने, वीरेन्द्रबजारलगायत आसपास स्थानबाट धेरै महिलालाई ठुलीले काम लगाइदिने भन्दै दिल्ली लैजाने गरेको आफूले थाहा पाएको समेत मिजारले बताए । श्रीमती र्फकने आसमा बनिबुतो गरेर लालाबाला हुर्काइरहेका मिजार उजुरीका लागि प्रहरीमा गएका छैनन् । ‘छाक टार्न मुस्किल छ, प्रहरीमा गएर बिनसित्तीमा फसियो भने मेरा छोराछोरीको त बिचल्ली नै हुन्छ,’ उनले थपे । ‘यतिखेर ठुली आएको थाहा पाएको छु, फेरि श्रीमतीको बारेमा खोजखबर गर्न सानो छोरालाई लिएर जाँदैछु,’ आइतबार टेलिफोनमा उनले भने, ‘अब पनि कुनै खबर नपाएमा प्रहरीमा जान्छु ।’