होम कार्की
जापानले नेपालसहित ९ देशबाट कामदार लैजाने निर्णय गरेको छ । यी देशबाट पहिलो ५ वर्षमा तीन लाख ४५ हजार कामदार लैजान लागिएको हो ।
जापान टाइम्सका अनुसार मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले कामदार ल्याउने देश छनोट गरेको हो। जापानले चीन, इण्डोनेसिया, मंगोलिया, म्यान्मार, नेपाल, थाइल्यान्ड, फिलिपिन्स र भियतनामबाट कामदार लैजान लागेको हो। यी देशबाट लैजाने कामदारलाई नर्सिङ, उत्पादन, होटल, कृषि, माछापालन, खाद्यान्न उत्पादन तथा सेवालगायत १४ वा औद्योगिक क्षेत्रमा रोजगार दिनेछ।
जापानले अदक्ष कामदार (ब्लु–कलर) लाई पहिलोपटक श्रम भिसामा विदेशी कामदार लैजान लागेको हो। यसअघि नेपालबाट औद्योगिक प्रशिक्षार्थीका रुपमा कामदार लैजाने गर्थ्यो। जापानमा कामदारले महिनामा कम्तीमा ३ लाख नेपाली रुपैयाँ कमाउँछन्।
नेपालले अन्तर्राष्ट्रिय श्रम संगठनको मापदण्डअनुसार श्रम सम्झौता गरेर मात्रै कामदार पठाउने संवाद जापानसँग गर्दै आएको छ। दुई देशबीच सम्झौतामा थप छलफल गर्न जनवरीको तेस्रो साता जापानको टोली नेपाल आउने तयारी भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। जापान खाडी र मलेसियापछिको अर्को महत्वपूर्ण गन्तव्य बन्ने सम्भावना छ।
Published: 26 December 2018 | Kantipur