‘छोरा नआए पनि उसको दाहसंस्कार नेपालमै गर्न पायौं, यही ठूलो भयो’

6 June, 2020

सुधिर भण्डारी

शुक्रबार युएईबाट एक जना बच्चासहित १६८ र म्यानमारबाट २६ जना नेपाली जहाजमा स्वदेश फर्किए। सरकारले उद्दार गरेर दुई देशबाट आएकाहरू ‘क्वारेन्टाइन’ मा पठाइए।

दुबईबाट नेपाली यात्रु बोकेर आएको एयर अरेबियाको जहाजमा रहेको एउटा शरीर भने क्वारेन्टाइन पुगेन। उक्त जहाजमा एउटा शव पनि नेपाली भूमि आइपुगेको छ।

वैदेशिक रोजगार बोर्डको अनुसार लकडाउनका कारण विदेशमा मृत्यु भएका २ सय ३८ जना नेपालीको शव नेपाल ल्याउन सकिएको छैन। यो अवधिमा दुबईमा मात्र ५१ जनाले ज्यान गुमाइसकेका छन्।

यस्तो अवस्थामा स्वदेश आइपुगेको त्यो एउटा मात्र शव राजु पन्चकोटीको हो। उनी इलाम नगरपालिका-१, साखेजुङका बासिन्दा थिए। 

राजुका काका दीपेन्द्र पन्चकोटीका अनुसार राजु पहिले वैदेशिक रोजगारीका सिलसिलामा २ वर्ष बहराइन बसेका थिए। नेपाल फर्केर बिहे गरे। घरमा आमा, बुवा, श्रीमती, भाइ, बुहारी, परिवार खुसीसाथ बसेका थिए। अझ छोरी जन्मेपछि त राजुको खुसीको सीमा नै भएन।

‘छोरी जन्मेपछि राजु निकै खुसी भएको थियो,’ काका दीपेन्द्रले सेतोपाटीसँग भने। 

राजुका भाइ पनि वैदेशिक रोजगारीबाट फर्केका थिए। परिवारको आर्थिक अवस्था त्यति बलियो नभएका कारण भाइले फेरि विदेश जाने तरखर गरे।

राजु, घरका जेठा छोरा, त्यहीँमाथि छोरीको जिम्मेवारी। उनले भाइलाई रोकेर आफैं विदेश जाने निर्णय गरे।

‘भाइ जान खोज्दै थियो। आमाबाबु हेर्नुपर्छ, तँ नेपालमै केही काम गर, म जान्छु भनेर गयो,’ दीपेन्द्रले राजुका भनाइ उद्धृत गर्दै भने।

थपे, ‘दुबई गयो, यस्तो हुन्छ भनेर के थाहा र?’

दुबईमा काम राम्रै चल्दै थियो। सिलाई-कटाईको काम गरेर घरमा मासिक ४०–५० हजार रूपैयाँ पठाउँथे। कुराकानी निरन्तर थियो।

तर २०७६ साल चैत ८ गते पन्चकोटी परिवारले कहिल्यै नभुल्ने खबर आयो।

राजु बित्यो।

३५ वर्षको हट्टाकट्टा छोरा बित्यो भन्दा उनका आमाबुवालाई विश्वास पनि लागेन।

‘राजुको नाइट ड्युटी थियो रे। साथीहरूले उसलाई खाना बनाउने काम जिम्मा लगाएर गएछन्। साथीहरू कामबाट फर्कँदा ऊ बाथरूममा रहेछ। धेरैबेर बाथरूमबाट केही आवाज नआएपछि उनीहरूले पुलिसलाई फोन गरे रे,’ दीपेन्द्रले सुनाए, ‘प्रहरीले साथीहरूलाई एउटा कोठामा थुनेर राजुलाई झिकेछन्। एकैपटक राजुको मृत्यु भयो भन्ने मात्र जानकारी आयो रे।’

पोष्टमार्टम रिपोर्टका अनुसार सास फेर्न मुश्किल भएर ज्यान गएको भन्नेसम्म जानकारी उनको परिवारले पाए। 

छोराको सास त रहेन, लास ल्याउन उनीहरूले तरखर गरे। चैत ११ गतेदेखि नेपालमा लकडाउन सुरू भयो।

लकडाउन र कोरोना भइरसको संक्रमणलाई मध्यनजर गर्दै वैदेशिक रोजगार बोर्डले विदेशमा मृत्यु भएका सबैको परिवारलाई गन्तव्य मुलुकमै अन्त्येष्टि गर्न अनुमति माग्यो। बोर्डले किरिया खर्च स्वरूप ५० हजार रूपैयाँ दिने निणर्य पनि गर्‍यो।

‘हामीलाई पनि फोन आएको थियो। तर राजुकी आमाले ६ महिना पर्खिएर भए पनि छोराको अनुहार हेर्ने भन्नुभयो,’ दीपेन्द्रले भने। 

तै, उनीहरूले छ महिनासम्म कुर्नु परेन। शुक्रबार राजुको शव नेपाल आइपुग्यो। 

छोराको लास यति छिट्टै घर आउँछ भन्ने कल्पना पनि नगरेको उनले बताए। 

‘हामीलाई त बैदेशिक रोजगार बोर्डले बिहीबार फोन गरेर राजुको शव आउँदैछ, लिन बुवालाई पठाइदिनु भन्यो। हामी यहाँबाट जान सम्भव भएन। काठमाडौंमा भएका आफन्तलाई जिम्मा लगायौं,’ इलाम बस्ने दीपन्द्रले भने।

आफ्नो भूमिमै अन्त्येष्टि हुन पाउँदा राजु भाग्यमानी भएको काका दीपेन्द्र बताउँछन्। 

‘कोरोनाले बितेको भए अनुहार पनि हेर्न पाउँदैन थियौं। लास भोलि (शनिबार) इलाम आइपुग्छ रे,’ शुक्रबार सेतोपाटीसँगको कुराकानीमा उनले भने, ‘छोरो त गयो, कम्तिमा उसको दाहसंस्कार यही गर्न पायौं। यही पनि ठूलो कुरा भयो।’

उनले राजुको मात्र होइन, उनी जस्तै विदेशमा मृत्यु भएकाहरूको शव नेपाल ल्याउन सरकारलाई आग्रह पनि गरे।

‘सरकारले गर्‍यो कि कसले गर्‍यो यकिन छैन। जसले गरेको भए पनि हामीले छोराको लास पाउने भयौं। हाम्रो छोरो जस्तै विदेशमा ज्यान गुमाउने अरूको शव पनि नेपाल लयाइदिए कम्तिमा परिवारको मन हलुँगो हुन्थ्यो होला,’ दीपेन्द्रले भने।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024