चैतमा उच्च दक्षता भएका २० जना नेपाली विदेशिए

20 April, 2023

चैतमा वैदेशिक रोजगारीका लागि ६१ हजार ४७८ जना युवाले श्रम स्वीकृति लिएका छन्। यो नयाँ तथा पुनः श्रम स्वीकृति लिनेको संख्या हो। श्रम स्वीकृति लिनेमा पाँच हजार १३५ जना छन्।

चैतमा सबैभन्दा धेरै १६ हजार २६५ जनाले मलेसियाका लागि श्रम स्वीकृति लिएका छन्। त्यस्तै साउदीका लागि ११ हजार ३६४, कतार ११ हजार २४९ र युएई १० हजार १९३ जनाले श्रम स्वीकृति लिएका छन्।

गत महिना विभिन्न युरोपियन मुलुकहरू, दक्षिण कोरिया लगायत १०० मुलुकका लागि नेपालीहरूले श्रम स्वीकृति लिएका छन्। उक्त महिना उच्च दक्षता भएका २० जनाले श्रम स्वीकृति लिएका छन्। त्यस्तै व्यवसायिक कामका लागि ८३, अर्ध दक्ष पाँच हजार २९३, दक्ष ४१ हजार ७२९ जना र अदक्ष १४ हजार ३५३ जनाले श्रम स्वीकृति लिएका छन्।

नेपालबाट ५० प्रतिशतभन्दा बढी अदक्ष श्रमिकहरू वैदेशिक रोजगारीमा जाने गरेकोमा पछिल्लो समय दक्ष श्रमिकहरूको संख्या बढ्दै गएको छ। दक्ष श्रमिकहरू वैदेशिक रोजगारीमा जाँदा जोखिम कम हुने र नेपालले प्राप्त गर्ने रेमिट्यान्स पनि वृद्धि हुने विश्वास लिइएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024