घरेलु महिला कामदारको पुनः श्रम स्वीकृति खोल्ने निर्णय

21 August, 2019

अब विदेसिने घरेलु कामदारले पुनः श्रम स्वीकृति पाउने भएका छन् । नेपालबाट प्रायः महिलाहरु नै घरेलु कामदरका रुपमा विदेश पुग्छन् । बुधबार बसेको संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले तोकिएको शर्त पुरा गर्ने घरेलु कामदारलाई नेपाल आएर विदेश फर्किन बाटो खुला गर्ने निर्णय गरेको हो ।तर, नयाँ घरेलु महिला कामदारमाथिको रोक भने कायमै रहनेछ ।

सम्बन्धित कामदारले ‘सुरक्षित’ रहेको स्वघोषणा पत्र तयार गरेको र सोही देशको दूतावासले पनि श्रम इजाजत नवीकरण गर्न सकिने ब्यहोरा जानकारी गराएको अवस्थामा श्रम इजाजत नवीकरण गर्न दिने गरी निर्णय भएको समिति सदस्य कांग्रेस सांसद प्रकाश रसाइली ‘स्नेही’ले जानकारी दिए ।

हालसम्म संसदीय समितिको निर्देशनकै कारण महिला घरेलु कामदारलाई विदेश जान प्रतिवन्ध छ । अब विदेशमा घरेलु कामदारका रुपमा गएर फर्किनेले पनि तोकिएको कागजात र प्रक्रिया पुरा गरे सरकारबाट पुनः श्रम स्वीकृति पाउने रसाइलीले बताए ।

यसअघि राष्ट्रिय मानवअधिकार आयोगले पनि घरेलु कामदारलाई रोक्ने संसदीय समितिको निर्णय ‘औचित्यहीन’ भएको जनाएको थियो ।

३ वर्षअघि तत्कालीन व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले सम्बन्धित मुलुकमा घरेलु कामदारसम्बन्धी ठोस कानून नबन्दा वा नेपालले सो देशसँग श्रम सम्झौता नगर्दासम्म घरेलु कामदार पठाउन बन्द गर्न सरकारलाई निर्देशन दिएको थियो ।

यसपछि नयाँ घरेलु कामदार जान र काम गरेर विदेशबाट फर्किएपछि पुनः सोही रोजगारदाताकोमा काम गर्न जान पनि रोक लगाइएको थियो । यो व्यवस्थाका कारण राम्रो पारिश्रमिकसहितको रोजगारी माया मार्न नसकेर करिब डेढ लाख महिला घरेलु कामदार स्वदेश फर्किन नपाएको अनुमान छ ।यसका कारण विदशेमै नेपाली घरेलु कामदार बन्दी जस्तो जीवन बिताइरहेका छन् ।

अब समितिले सरकारलाई निर्देशनसहितको पत्र दिएपछि श्रम मन्त्रालयले वैदेशिक रोजगार विभागलाई घरेलु कामदारको पुनः श्रम स्वीकृति खोल्न निर्देशन दिनेछ । त्यसलगत्तै विदेशमा अड्किएका नेपाली घरेलु कामदार नेपाल फर्किन पाउनेछन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024