गैरआवासीय नेपालीमा कोरोना संक्रमणको दर घट्यो, हालसम्म एक सय २५ गैरआवासीय नेपालीको कोरोना संक्रमणबाट निधन

7 June, 2020

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण शनिबार (६ जुन २०२०) साँझसम्म विदेशमा रहेका नेपालीहरूको मृत्यु र संक्रमणको दरमा उल्लेख्य रूपमा कमी आएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार यस साता विदेशमा ६ जना नेपालीको कोरोना संक्रमणबाट निधन भएको छ भने पाँच हजार पाँच सय ९० जना संक्रमणमुक्त भएका छन् ।

संक्रमणदर गतसाता भन्दा ७५ प्रतिशतले कमी हो ।

गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यस साता कतारमा चारजना, कुवेतमा एकजना, बेलायतमा एकजना गरी ६ जनाकाे कोरोना भाइरस संक्रमणबाट ज्यान गएको हो ।

संघको पछिल्लो तथ्यांकअनुसार हालसम्म विभिन्न विदेशमा एक सय २५ जना गैरआवासीय नेपालीको कोरोनाका कारणले निधन भएको छ । 

संघअन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार विश्वका ३४ देशमा रहेका नेपाल कोरोना भाइरसबाट प्रभावित भएका छन् ।

१३ देशमा रहेका नेपालीको ज्यान गएको छ । 

कोरोना भाइरसका कारण बेलायत, संयुक्त राज्य अमेरिका, युएई साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड र स्वीडेनमा रहेका नेपालीको मृत्यु भएको छ ।

संयोजक डा. सापकोटाका अनुसार विदेशमा मात्र १४ हजार चार सय ५४ जना गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएका छन् । 

नेपाल फिर्तीलाई व्यावहारिक बनाउन आग्रह

सरकारले भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने कार्यको सुरुवातको गैरआवासीय नेपाली संघले स्वागत गरेको छ । 

सरकारले शुक्रबारदेखि विदेशमा समस्यामा परेका नेपाली फर्काउन सुरु भएकोमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले सरकारको कदम स्वागतयोग्य भएको बताए ।

सरकारले लकडाउन भएको ७४ दिन पहिलोपटक बर्माबाट २६ र युएईबाट एक सय ६८ जना नेपाली फर्काएको छ । 

विदेशबाट नेपाल फर्किन लागेका  अन्य नेपालीको फिर्ती प्रक्रियालाई व्यावहारिक बनाउन संघले नेपाल सरकारलाई आग्रह गरेको छ ।

अध्यक्ष पन्तले नेपालीको फिर्तीको लागि भोगेका समस्याबारेमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र कोभिड १९ उच्चस्तरीय समितिका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोख्रेलसँग छलफल गर्ने बताए ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024