खेर गइरहेको बाँझो जग्गामा सुन फल्छ

10 July, 2024

निरज तुलाचन । देशको युवाशक्ति एकपछि अर्को गर्दै विदेश पलायन भइरहँदा मलाई चिन्ताले सताउँछ। म हाम्रै देशमा बसेर यहाँको प्रचुर सम्भावनालाई पछ्याउँदै भविष्य खोजिरहेको छु।

म अहिलेका युवाजस्तै आफ्नो भविष्य खोज्न जापानतिर छिरेको थिएँ। तर, जापानको रोजगारीले पटक्कै सन्तोष दिन सकेन। त्यसपछि आफ्नै थाकथलो मुस्ताङ फर्किएँ। मेरो बाजे बुबाले यहीँ कृषि कर्म गर्नुभयो । म तेस्रो पुस्ता हुँ। गाउँको कृषि कर्ममा लाग्न अहोरात्र मेहनत र परिश्रम गरिरहेको छु। मुस्ताङमा कृषि र पर्यटनको प्रचुर सम्भावना छ। यही सम्भावनालाई आत्मसाथ गर्दै २०७६ सालमा व्यावसायिक कृषि स्याउ फार्म दर्ता गरेँ।

मुस्ताङमा आधुनिक र वैज्ञानिक स्याउ खेती गर्ने उद्देश्यले कृषि विज्ञ मदन राईसँग काठमाडौं पुगेर परामर्श लिएँ। मैले भारतको हिमाञ्चल प्रदेशका विभिन्न स्याउ फार्ममा पुगेर एक महिनासम्म स्याउको विस्तृत अध्ययन गरेँ।

म दैनिक ८ घण्टा कृषि कर्ममा खट्छु। ४ जनालाई स्थायी रोजगारी दिएको छु। स्याउ बगैंचा व्यवस्थापन र स्याउ टिप्ने सिजनमा केहीलाई अल्पकालीन रोजगारी दिने गर्छु। मसँग २ सय ५० भन्दा बढी स्थानीय र ४ हजारभन्दा बढी बोट उच्च घनत्वका स्याउ छन्। थप ४ हजार स्याउ बिरुवा लगाउने योजनामा छु। वार्षिक ६० मेट्रिक टन स्याउ फलाउँछु। खेर गएको बाँझो जग्गामा लटरम्म स्याउ फलेको देख्दा निकै आनन्द लाग्छ।

स्याउ फार्म खोलेर निरन्तर लागिरहेको छु। जिल्लाको अधिकांश कृषकहरू पनि म जस्तै स्याउ खेतीमै रमिरहेका छन्। मेरो मेहनत र परिश्रमको उच्च मूल्यांकन गर्दै हालै जिल्ला र प्रदेश सरकारबाट पनि उत्कृष्ट कृषकको रूपमा पुरस्कृत र सम्मानित हुने मौका पाएँ। यसले मलाई थप कृषि कर्ममा लाग्ने हौसला र प्रोत्साहन मिलेको छ। स्वदेशमा भविष्य छैन भन्नेहरूका लागि म प्रेरणाको स्रोत बन्न सक्छु कि भन्ने लागेको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024