कतारमा जलेका नेपालीले तलब पाएनन्

2 February, 2014

बलिष्ठ पाखुरा र शरीरका कारण उनी टोलमा ‘बडिबिल्डर’ कहलिन्थे। आर्थिक अवस्था कमजोर भएकाले मिस्त्रीको काम गर्न थाले। बिहेपछि घरायसी जिम्मेवारी र आर्थिक दायित्व अझ बढ्यो। मजदुरी गर्न भारतका विभिन्न सहर धाए। पाँच–छ वर्ष बिताए। यता दौंतरीचाहिँ विदेशबाट बडेमानको सुटकेस बोकेर घर फर्कन थालेका थिए। उनलाई पनि लाग्यो, विदेश नगई नहुने रहेछ। धरान–११ मंगलबारेका पदमबहादुर श्रेष्ठ पनि सन् २००५ मा कतार पुगे।     

गत वर्ष मंसिरको एक शुक्रबार बिदाको दिन उनी ओख्रा भन्ने ठाउँको पेट्रोलमा पार्टटाइम काम गर्न पुगेका थिए। बिहान करिब ८ बजेतिर हुँदो हो, धुम्रपानका अम्मली मालिकले सल्काएको चुरोटको आगोले पम्प पड्कियो। छेउमै रहेका पदमबहादुर उम्कन सकेनन्, शरीरभरि आगो सल्कियो। त्यो आगोले उनको शरीर मात्रै जलाएन, पदमबहादुर र उनको परिवारको सपना पनि जलायो। उनीसँगै काम गरिरहेका ओखलढुंगाका राई थरका साथी भने सामान्य घाइते मात्रै भए। चुरोट सल्काउने पम्प मालिकचाहिँ सकुशल।

करिब ६ महिनापछि अस्पतालमा होस खुल्दा पदम आफ्नै अनुहार र जिउ देखेर तर्सिए। ‘भाग्दाभाग्दै आगोले टिपिहाल्यो, ६ महिनासम्म हस्पिटलमा राखेर उपचार भएछ,’ धरानस्थित निवासमा उनी सम्झँदै छन्, ‘पहिलोचोटि देख्दा मलाई आफैंसँग डर लाग्यो। खुट्टाको पैतलाबाहेक शरीरको प्रायः सबै भाग जलेर कुरूप भइसकेको थियो।

अस्पतालबाट निस्केपछि उनको झन् बिजोग भयो। हमत हस्पिटलले ६ महिनाको उपचार निःशुल्क गरिदिए पनि रोजगारदाता कम्पनी ला भिल्ला ल्यान्डस्केप एन्ड ट्रेडिङले उनको १० महिनाको तलब दिएन।

प्रहरीमा उजुरी दिएर तलब र बिमाको लागि केही समय पहल गरे पनि खर्च धान्न सकेनन्। घर फर्कन टिकट काट्ने पैसासम्म थिएन। उपचाररत हस्पिटलका डाक्टर र नर्सले नै पैसा उठाएर उनलाई असारमा नेपाल फर्काइदिए। ‘कम्पनी डुबेर १० महिनाको तलब पाएको थिइनँ, मुद्दा लड्दै थिएँ, पैसा भएन, साथ दिने पनि कोही थिएन, त्यसै फर्किनुपर्योथ’ –पीडा सुनाए।

यो घटना हुँदा उनकी पत्नी सुजाता पनि घरेलु कामदारका रूपमा कुवेत पुगेकी थिइन्। तत्कालै घर फर्कन मालिकले दिएन। घाइते पतिको फोटो देखाएपछि असोजमा मात्रै फर्कन पाइन्। अहिले जेठाजुको कमाइले जसोतसो घर चलिरहको छ। सानो घरमा दुई छोरी, ७५ वर्षका ससुरा, जेठाजु पनि बस्छन्। नेपाल फर्केपछि पदमबहादुरको थप उपचारमा डेढ लाख रुपैयाँभन्दा बढी खर्च भइसक्यो। यहाँ आएपछि सुगरले पनि समातेकाले टाउकोको घाउ सुक्नै पाएको छैन। ‘रातभरि जिउ चिलाउँछ, ढाड दुखेर सुत्नै सक्दिनँ,’ पीडा सुनाउँछन्, ‘जिउ, हात नचलाए फेरि कुँजिन थालिहाल्छ।’

कमाउने व्यक्ति नै थला परेपछि परिवार आर्थिक समस्याले पिरोलिएको छ। अपांग तथा असहाय पुनःस्थापना केन्द्र नामको संस्थाले अपरेसनखर्च बेहोरिदिने भएपछि यसै साता उनीहरु काठमाडौं जाँदै छन्। तर, चिन्ताले छाडेको छैन– त्यहाँ खाने, बस्ने र औषधि किन्ने खर्च कहाँबाट जुटाउने? ‘डाक्टरले हात, ओठ मिलाइदिन्छु भनेको छ तर खर्च छैन,’ सुजाताले याचनामिश्रित स्वरमा भनिन्, ‘अरू संघसंस्था र सहयोगीलाई भनिरहेका छौं, केहीबाट सहयोग पनि पाइरहेका छौं।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024