कंगो युद्धका कारण त्रासमा नेपाली

24 February, 2025

सन्जिब बगाले

बुटवलका पुरन खनाल अफ्रिकी मुलुक कंगो पुगेको १८ वर्ष भयो। त्यहाँ उनले तीन वटा रेस्टुरेन्ट चलाएका छन्।

पछिल्ला दिनमा उनको बेचैनी बढेको छ। कंगोमा विद्रोही पक्षले आधा भूभाग कब्जा गरेकाले अब के गर्ने भन्ने अन्योल उत्पन्न भएको छ।

लुबुम्बासी भन्ने ठाउँमा उनका दुई वटा रेस्टुरेन्ट छन्। त्यहाँबाट तीन सय किलोमिटर परसम्म विद्रीहीले कब्जा गरेका छन्। यसबाट उनको चिन्ता झन् बढेको हो।

‘लुबुम्बासीमा एउटा युरोपियन र अर्को इन्डियन रेस्टुरेन्ट छन्। विद्रोही पक्षले ५० प्रतिशत भूभाग कब्जा गरिसकेको छ। उनीहरूको लक्ष्य सबै कब्जा गर्ने हो,’ पुरनले भने, ‘विद्रोहीले कब्जा गरेका ठाउँ सबै भारतीय र पाकिस्तानीले छोडिसके। मैले त के गर्ने भनेर सोच्न पनि सकेको छैन।’

पुरनका अनुसार लुबुम्बासी राजधानी किन्सासापछिको ठूलो सहर हो। यहाँ धेरै ठूला लगानीकर्ता छन्।

कंगोमा करिब एक हजार नेपाली भएको अनुमान छ। नेपाल सरकारले कंगोमा काम गर्न श्रम स्वीकृति दिएको छैन। अधिकांश नेपाली भारतको बाटो हुँदै त्यहाँ पुग्छन्।

तनहुँका विष्णुप्रसाद गिरी सन् २०१६ देखि कंगोमा छन्। उनी खनिज उद्योगको ‘सुरक्षा गार्ड इन्चार्ज’ का रूपमा कार्यरत छन्। उनी गैरआवासीय नेपाली संघ (एनआरएनए), कंगोका अध्यक्ष समेत हुन्।

विष्णुका अनुसार कंगोमा धेरै नेपाली भारतीय कम्पनीमा काम गर्छन्। त्यहाँको विद्रोही पक्षले अहिलेसम्म गैरसैनिकमाथि आक्रमण गरेको छैन तर जोखिम छ। केही दिनअघि विद्रोहीको गोली लागेर एक नेपाली घाइते भए।

‘लिकासीमा एक नेपाली युवा गोली लागेर घाइते भएका छन्। भारतीय कम्पनीमा काम गर्ने भएकाले उनको उपचारमा समस्या छैन। उनको स्वास्थ्य अवस्था सामान्य छ,’ विष्णुले भने, ‘यो घटनाले हामीमा डर बढेको छ।’

दक्षिण अफ्रिकामा रहेको नेपाली दूतावासले कंगो पनि हेर्छ। नवनियुक्त राजदूत कपिलमान श्रेष्ठ गत साता मात्रै दक्षिण अफ्रिका पुगेका छन्। राजदूतहरू परिवर्तन भइरहने हुँदा दूतावासको सहयोग पनि निराशाजनक रहेको विष्णुको भनाइ छ।

आफूले दक्षिण अफ्रिकामा रहेको नेपाली दूतावासमा धेरैपटक सम्पर्क गरेको तर राजदूत आउने–जाने भइरहँदा समस्या राम्ररी सुनाउन नपाएको उनले बताए।

‘कतिपय नेपालीको राहदानीको म्याद सकिएको दुई वर्ष भइसकेको छ। तर दूतावासबाट कुनै पहल भएको छैन,’ उनले भने, ‘हामीलाई धेरै अप्ठ्यारो पर्ला जस्तो भइसक्यो।’

उनका अनुसार कतिपय देशले कंगोबाट आफ्ना नागरिक फिर्ता लैजान थालेका छन्। भारतले महिलाहरूलाई तत्काल फिर्ता लैजाने भनेको छ। कोही समस्यामा परेको अवस्थामा तत्काल उद्धार गर्ने भनेको छ। तर नेपाली दूतावासको उपस्थिति नै छैन।

आफ्नो देशबाट सहयोग पाउने नदेखेपछि विष्णु निराश छन्। बरू भारतले आफ्ना नागरिक उद्धार गर्ने क्रममा नेपालीले सहयोग पाउन सक्ने झिनो आशा छ।

‘कंगोमा काम गर्ने धेरैजसो नेपाली कुक पेसामा छन्। अरू क्षेत्रमा पनि छन्। सबैले मासिक कम्तीमा एक लाख रूपैयाँ कमाउँछन्,’ उनले निराशा प्रकट गरे, ‘हामीजस्ता आप्रवासी कामदारले पठाएको रेमिटेन्सले देश चलेको छ। तर हाम्रो समस्यामा सरकारलाई कुनै चासो छैन।’

नेपाली दूतावासले ‘केही जरूरी परेमा सम्पर्क गर्नुहोला’ भनेर सूचना मात्र निकाले पनि धेरै राहत महसुस हुने उनले बताए।

पुरनले लगानी गरेर व्यवसाय चलाएका छन्। उनी आफ्नो व्यवसाय रहेका सहर विद्रोहीले कब्जा गरे भने आफ्नो अवस्था के होला भन्ने चिन्तामा छन्।

‘अहिलेसम्म त कुनै धम्की आएको छैन। भोलिका दिनमा के हुने हो कसलाई थाहा छ र! अहिलेसम्म पर्ख र हेर जस्तो अवस्था छ,’ उनले भने, ‘भारतीयहरू ५० हजारभन्दा धेरै छन्। कुनै समस्या पर्नासाथ उनीहरूको उद्धार हुन्छ। यहाँ गोली हानाहान भयो भने हामी कता जाने!’

उनका अनुसार कंगोमा आप्रवासीहरू निकै कठिन अवस्थामा छन्। आप्रवासीहरू सुरक्षा गार्ड लिएर हिँड्नुपर्छ। पैदल हिँड्न सम्भव छैन। लुटपाट हुन्छ।

‘हामी (आप्रवासी) लाई एक्लै देखे भने त लगाएको कपडा समेत नछोडी लुट्छन्। रेस्टुरेन्टमा चौबीसै घण्टा सुरक्षा गार्ड राख्नुपर्छ,’ उनी भन्छन्,’ ‘स्थानीय मानिसको कमाइ कम छ, सन्तान धेरै छन्। यसकारण उनीहरू चोरी, डकैती र लुटपाटमा उत्रिन्छन्।’

नेपाल सरकारलाई पुरन र विष्णुको आग्रह छ – कंगोमा रहेका नेपाली नागरिकको समस्यामा ध्यान देऊ। तत्कालका समस्या समाधान गर्न पहल गर, उद्धारको तयारी गर।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024