एकै गाउँका आठ युवा साउदीमा भोकभोकै

27 April, 2016

मनिका झा

 

जनकपुरधामः दलालले भने अनुसार काम नभेटेपछि वैदेशिक रोजगारमा गएका धनुषा जिल्लाको एकै गाउँका आठ युवक अलपत्र परेका छन् । 

 

वैदेशिक रोजगारको लागि साउदी अरब पुगेका जिल्लाको माची झिटकैया गाविसका आठजना युवा स्वदेश फर्कने विकल्पको खोजीमा छन् । 

 

स्थानीय एक एजेन्टले माची झिटकैया लगमा टोल निवासी जगवीर मुखिया मार्फत वैदेशिक रोजगारमा साउदी पठाएका सरोज शर्मा, अरुण मरवैता, राजेन्द्र तत्मा, राजदेव गोहितमान, देव कुमार यादव, रामपुकार महरा, राजकुमार महरा र सोमन मण्डल अलपत्र परेको परिवारजनले जनाएका छन् । 

 

मासिक एक हजार दिनार तलबको सम्झौतामा तीन महिना अघि साउदी गएका उनीहरुलाई त्यहाँ पुगेपछि मुस्किलले तीनसय दिनार मात्र तलब दिइएको परिवारजनले बताएका छन् । 

 

स्थानीय दलालले काठमाडौंस्थित हेभेन ओभरसिजको नामबाट ती युवाहरुलाई विदेश पुर्याएको बताएपनि हेभेन ओभरसिले आफैं युवाहरुलाई विदेश नपठाई शेरा ओभरसिजबाट रोजगार दिलाएर पठाएको जनाइएको छ । 

 

अलपत्र परेका युवाहरुको उद्दारको लागि प्रयासरत सुरक्षित आप्रवासन परियोजना धनुषाका कार्यक्रम संयोजक रामकुमार कर्णले स्थानीय दलाल र ओभरसिजको लापरवाहीको कारण साउदीमा ती युवाहरुले कष्टपूर्ण समय बिताउनु परिरहेको बताए । 

 

साउदीस्थित एक सुपर मार्केटमा मासिक १ हजार दिनार तलब दिने भन्दै एजेन्ट मुखियाले प्रतिव्यक्ति एक लाख १० हजार रकम लिएर युवाहरुलाई ओभरसीज मार्फत साउदी पठाएको थियो । 

 

साउदी पुगेपछि आठैजनालाई टिंगटैंग नामको एक कम्पनीमा पठाइएको थियो ।  त्यहाँपनि उनीहरुलाई भनेजस्तो काम नदिई मजदुरको काममा अन्य स्थानमा लगेर काम गराईएको आप्रवासन संंस्थाका संयोजक कर्णले बताए । 

 

अहिले ती युवाहरुसँग मजदुरीको काम पनि छिनेर अलपत्र बनाइएपछि उनीहरु त्यहाँ रहेका नेपालीसँग मागेर खाना र बासको व्यवस्था गरि जसोतसो दिन काटिरहेको जनाइएको छ । 

 

युवकहरु साउदीमा अलपत्र परेपछि उनीहरुका अभिभावकले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी गरेका थिए । प्रहरीले मुखियालाई पक्राउ गरेपनि २४ घण्टा नबित्दै छाडेको थियो । 

 

एजेन्ट मुखियाले आठैजना युवकलाई आफुले नचिनेको र यस घटनामा आफुलाई फेरी पक्राउ गर्ने वा पुछताछ गर्न नपाइने भन्दै पुनरावेदन अदालत धनुषाबाट परमादेश समेत जारी गराईसकेको जनाइएको छ । 

 

एजेन्टलाई ती युवकहरुले रकम दिएको कुनै प्रमाण वा भर्पाई नरहेको कारण यस्तो समस्या उत्पन्न भएको संयोजक कर्णले बताए । 

 

उता, साउदीमा टिंगटैंग कम्पनीले आठैजना युवकको पासपोर्ट समेत जफत गरिसकेकोले उनीहरु स्वदेश फर्किन गाहे भएको हो । 

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024