साउदीमा जेल परेका प्रेमलाई बचाउन एक लाख ७० हजार सहयोग जुट्यो

30 March, 2018

साउदीमा जेलमा रहेका प्रेमबहादुर राईको उद्दारका लागि एक लाख ७० हजार ५७८ रुपैयाँ संकलन भएको छ । मलेसियामा कार्यरत ३०० जना सहयोगीमार्फत बुधराज योङहाङले संकलन गरेको यो रकम परिवारमार्फत प्रेमबहादुर राई बचाउ अभियानलाई प्रदान गरिएको हो । 

 

प्रदेश दुईका सांसद धीरेन्द्र शर्माले अभियानलाई रकम हस्तान्तरण गर्नुभएको हो । उहाँले रकम हस्तान्तरण गर्दै प्रेमबहादुरलाई छुटाउन आफूलगायत स्थानीय तहले पहल गर्ने पनि बताउनुभयो ।

 

सन् २०१२ मा साउदी पुगेका प्रेमले चलाएको गाडी रोकिराखेको ठाउँबाट हराएको थियो । त्यही आरोपमा उहाँ दुईवर्षदेखि साउदीमा जेल जीवन बिताइरहनुभएको छ । 

 

गाडीमा रहेको केवलतार हराएपछि उहाँलाई पक्राउ गरी दुई महिना जेल र ५० कोर्रा सजाय दिएको थियो । सजाय भुक्तान गरी घर फर्कने क्रममा प्रेमलाई फेरि पक्राउ गरी कम्पनीले तीन लाख १० हजार रियाल अर्थात झण्डै ९५ लाख रुपैयाँ जरिवाना लगाएको थियो।

 

फैसला अनुसारको रकम नबुझाएसम्म जेलमै  बस्नुपर्ने भएकाले उहाँको जीवन रक्षाका लागि अभियान सञ्चालन भइरहेको छ । 

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024