साउदी, बहराइन र ओमान जाने कामदारले सिधै म्यानपावर हुँदै मेडिकल संस्थामा गएर स्वास्थ्य परीक्षण गराउन पाउने भएका छन् ।
गल्फ कोअपरेशन काउन्सिल (जिसिसी)ले अनलाइनबाट आवेदन भर्नुपर्ने नियम लागु गरेपछि यसअघि यी देश जाने कामदारको मेडिकल गराउँदै आएको संस्था गाम्का नेपाल स्वतः खारेज भएको गाम्काका प्रवक्ता अब्दुल सतारले उज्यालोलाई जानकारी दिनुभयो ।
तर म्यानपावरले यस अघि गाम्का नेपालमै आवद्ध भएका १२ वटा स्वास्थ्य संस्थामा कामदारलाई मेडिकलका लागि सिफारिस गर्नुपर्ने छ । यी तीन देश जाने कामदारले अब स्वास्थ्य परीक्षणका लागि अनलाइनको ‘बुक योर एपोन्टमेन्ट’ मेनुमा विवरण भरेर जिसिसी स्लिप जेनरेट गर्नुपर्छ । यो एपोन्टमेन्ट लिन अनलाइनबाटै जीसीसीलाई दर्ता बापत १० अमेरिकी डलर तिर्नुपर्ने छ ।
यसअघि गाम्काले पनि १० अमेरिकी डलर बढाउन खोजेको थियो । यस वापतको रकम विदेशी खातामा जाने भन्दै राष्ट्र बैंकले रोकेको थियो । तर गाम्कालाई खारेज गर्दै जीसीसीले यो पक्रिया अघि बढाएको छ ।
अहिले गाम्का अन्तर्गत १२ वटा मेडिकल संस्था छन् । यि मेडिकलमा संस्थामा कामदारले यसअघि मेडिकल गराउँदा ५२ सय ५० रुपैयाँ तिर्न पथ्र्यो । यो रकममा १० अमेरिकी डलर थपिएको छ । अनलाइनबाट आवेदन भर्नुपर्ने नियम लागुभएसँगै कामदारले अब क्रेडिट वा मास्टर कार्ड मार्फत शुल्क तिर्नु पर्ने छ ।