ईपीएसबाट ३२ हजार नेपाली कोरियामा

31 July, 2015

देवेन्द्र सम्बाहाम्फे

रोजगार अनुमति प्रणाली (ईपीएस) लागु भए यता ३२ हजारभन्दा बढि नेपाली युवा दक्षिण कोरियामा रोजगारीका लागि आएका छन्। यहाँको अध्यागमन विभागले उपलब्ध गराएको तथ्यांक अनुसार आठ बर्षमा ३० हजार ५ सय ३५ पुरुष र २ हजार ५२ जना महिला गरि ३२ हजार ५ सय ८७ नेपाली युवाले रोजगारीको अवसर पाएका हुन्। वर्षका आधारमा २००८ मा २ हजार ८ सय १४, २००९ मा १ हजार ९ सय ११, २०१० मा २ हजार ३ सय ३९, २०१३ मा ५ हजार ४६, २०१४ मा ६ हजार २८ र २०१५ को अघिल्लो ६ महिनामा ४ हजार १ सय ३४ जना आएका छन्। एक कार्यअवधि समाप्त गरेर ४ हजार जति नेपाल फर्किए पनि हाल करिब २८ हजार नेपाली कोरियामा कार्यरत रहेको सोलस्थित नेपाली दूतावासका श्रम सहचारी अनिल गुरुङले बताए। अध्यागमन बिभागको तथ्यांक अनुसार सबभन्दा धेरै नेपाली युवा २०१२ मा ६ हजार ३ सय ३२ कोरिया भित्रिएका थिए। यसमा मध्ये महिलाको संख्या ३ सय ९५ रहेको थियो। कोरियामा महिला र पुरुषबीच कानुनी विभेद नभए पनि विदेशी महिला कामदारको माग न्यून रहेको छ। औसतमा ८ प्रतिशत महिलाको संख्या रहे पनि नेपाली महिलाको संख्या ६ प्रतिशत मात्र देखिएको छ। २०१४ मा सबैभन्दा धेरै ४ सय ४१ नेपाली महिला कामदार कोरिया आए। औद्योगिक उत्पादन क्षेत्रमा कम र कृषि क्षेत्रमा बढी महिला कामदारको माग हुने गरेको छ। कोरियामा ६५ प्रतिशत नेपाली कामदार औद्योगिक उत्पादन क्षेत्रमा र ३५ प्रतिशत कृषि, पशुपालन क्षेत्रमा कार्यरत छन्। कामको आधारमा आद्योगीक उत्पादन क्षेत्रमा सबैभन्दा धेरै २५ हजार ८ सय ६७ , कृषि तथा पशुपलानमा ५ हजार ३ सय ४९, मत्स्यपालनमा ४ सय ८५ र सेवा क्षेत्रमा ४५ जना कोरिया आएको तथ्यांकमा उल्लेख छ। लगातार ४ वर्ष १० महिना एउटै कम्पनिमा काम गरेका ८ सय ४१ जना अर्को कार्यकाल थपिएर कोरिया आएका छन्। यस्ता कामदारलाई प्रतिबद्ध कामदार भनिन्छ। कम्पनि परिवर्तन गरेका कामदारहरूले भने ४ बर्ष १० महिनाको कार्यावधि सघकिएपछि स्वदेश फर्केर कम्पुटरमा आधारित परीक्षा (सीबीटी) उतीर्ण गरेपछि रोजगारीको अवसर पाउने गर्दछन। Published on: 31 July 2015 | Kantipur  

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024