मनाङको भीरबाट खसेर मजदुरको मृत्यु

9 July, 2015

ऋण तिर्न भन्दै मनाङ पुगेर मजदुरी गर्दै आएका एक युवकको भीरबाट खसेर मृत्यु भएको छ। धारापानी गाविस ओडार गाउँ नजिकै भीरबाट खसेर चितवनको लोथर ४, द्रुमवाङका २१ वर्षीय सन्देश चेपाङको मृत्यु भएको प्रहरीले जनाएको छ। डीएस्पी राजेन्द्रबाबु रेग्मीका अनुसार जंगलमा बसेर १२/१३ जना उनकै गाउँलेसँग काम गर्दै आएका चेपाङको घेराङ र ओडारको बीचमा पर्ने रउभीरबाट खसेर मृत्यु भएको हो। ‘जंगलमा काम गरिरहेका उनीहरू सामान लिन ओडार गएछन्,’ डीएस्पी रेग्मीले भने, ‘अप्ठ्यारो बाटामा साथीहरूले नजाऊ भन्दाभन्दै गएका उनी भीरबाट करिब ३० मिटर तल खसे। उनको घटनास्थलमै मृत्यु भयो।’ रेग्मीका अनुसार सोमबार बिहान १० बजेतिर खसेका चेपाङको सीमा प्रहरी चौकी धारापानीबाट खटिएका प्रहरीले मुचुल्का उठाएर मंगलबार पोस्टमार्टम गरिएको छ। उनका आफन्तलाई बोलाएको रेग्मीले बताए। वैशाख १२ गतेको भूकम्पले घर भत्काएलगत्तै ज्यामी काम गर्न सन्देशसहित उनका साथीहरू मनाङ आएको प्रहरीले जनाएको छ। उनले ६ महिनाअघि मात्रै विवाह गरेको उनका साथीहरूलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। ‘विवाहमा लागेको ऋण तिर्न र भत्किएको घर बनाउनका लागि मजदुरी गर्न उनी मनाङ आएछन्,’ प्रहरीले भन्यो, ‘भूकम्पछि मात्रै मनाङ आएका चेपाङको ३ महिना नपुग्दै ज्यान गयो।’ प्रहरीका अनुसार उनीहरूले यसअघि मनाङमा गोरेटो बाटो, घरलगायत निर्माण गरेका छन्। Published on: 9 July 2015 | Kantipur  

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024