गोरखाबाट ल्याइएका बालबालिकाको स्थिति खुलेन

21 June, 2015

गोरखाको उत्तरी भेकको ल्हो गाविसमा रहेको गुम्बाबाट उद्धार गरेर ल्याइएका बालबालिकाको स्थिति अझै खुल्न सकेको छैन । गुम्बाका पदाधिकारीले उद्धार गरेर ल्याइएका बालबालिकाको संख्या र यहाँ राखिएका बालबालिकाको संख्याबारे यकिन सूचना बाहिर नल्याउँदा उनीहरूको स्थिति अझै अज्ञात बनेको हो । केन्द्रीय बालकल्याण समितिले बुधबार उक्त गुम्बाबाट ल्याइएका २ सय १५ बालबालिका हराएको जानकारी गराएको थियो । उत्तरी भेकमा रहेको गुम्बामा भूकम्प गएपछि उद्धार गर्नुपर्ने ४ सय बालक भएको सूचना दिइएको थियो । गुम्बा भत्किएपछि बालकका लागि आश्रयस्थल बनाइएको काठमाडौंको थानकोटमा १ सय ७५ बच्चा थिए । शनिबार दिउँसोसम्म त्यहाँ रहेको बालबालिकाको संख्या बढेर २ सय ६ पुगेको बालकल्याण समितिले जनाएको छ । समितिको पछिल्लो गणनाअनुसार ३१ जना बच्चा थप भएका छन् । उनीहरू हराएकामध्येबाट भेटिएका हुन्, या नयाँ थपिएका हुन् भन्ने अनुसन्धान गर्न जरुरी रहेको समितिले जनाएको छ । गुम्बाका पदाधिकारी सम्पर्कमा आएका छैनन् । ‘कति बालबालिका थिए, कति हराए भन्नेसमेत सूचना पाउन गाह्रो छ,’ समितिकी नमुना भुसालले भनिन्, ‘अभिभावकको साथ लगाएर पठाएको भनिए पनि विस्तृत विवरण अझै उनीहरूले दिन सकेका छैनन् ।’ गुम्बाबाट ल्याइएका बालबालिका हराएको खबर सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरूको अवस्थाबारे अध्ययन गरेको थियो । प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले भने थानकोटमा राखिएका बालबालिकाको स्थिति राम्रै रहेको बताए । ‘गोरखाको महिला विकास अधिकारीसहितले ल्याएका केही बालबालिकालाई राम्रोसँग राखिएको छ,’ उनले कान्तिपुरसँग भने, ‘बाँकी बालबालिकाको विषयमा अनुसन्धान गरिरहेका छौं ।’ त्यहाँका बालबालिकाको स्थिति अध्ययन गर्न जिल्ला बालकल्याण समिति काठमाडौंले महिला विकास अधिकारीलाई खटाएको छ । गोरखाकी महिला विकास अधिकारी सीता अधिकारीले आफूले ५९ बालबालिका मात्र काठमाडौं पुर्याोएको बताइन् । उनका अनुसार ती गुम्बामा रहेका बालबालिकामध्ये त्यतिजनाको मात्र कानुनी प्रक्रिया पूरा गरेर लगिएको हो । ‘बाँकी बालबालिकालाई गुम्बाले आफूखुसी लगेको हो,’ उनले भनिन् । उनका अनुसार गोरखाबाट धादिङको बाटो हुँदै बालबालिका काठमाडौं आएका हुन् । त्यही गुम्बाबाट ल्याएका १५ बालबालिका धादिङमा प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरूलाई काठमाडौं ल्याउन नदिएर गोरखा नै पठाइएको थियो । Published  on: 21 June 2015 | Kantipur  

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024