विदेशबाट फर्केर तरकारी खेती

18 June, 2015

प्रताप बिष्ट

दस महिना विदेशमा निकै दु:ख भयो । त्यसपछि मकवानपुर मनहराका विकास उप्रेतीले मेहनत र सीपको महत्त्व बुझे । अहिले फर्केर तरकारी खेतीमा लागेका छन् । जसले उनलाई सन्तुष्टि मात्र दिएको छैन, कम मेहनतमै राम्रो आम्दानी गर्न सकिने आशा पनि जगाइदिएको छ । इजरायलबाट फर्केका उप्रेती यतिबेला तरकारी खेतीमा मग्न छन् । त्यहाँ सिकेको सीपलाई व्यवहारमा उतार्न कस्सिएका छन् । उता छँदा एउटा भेडे खुर्सानीको बोटमा २५ किलोसम्म फलेको देखेका थिए । त्यहाँ खेती गर्ने उन्नत तरिका सिकेका थिए । अहिले उनले मनहरीको ज्यामिरेमा भेडे खुसानी र गोलभेडाले हराभरा पारेका छन् । प्लास्टिकको टनेल बनाएका छन् । ‘यहाँ पानी र माटो दुवै छ,’ उनले भने, ‘सीप पनि सिकें, त्यसैले उत्पादनमा कसिएको छु ।’ १२ कक्षा उत्तीर्ण गरेर उनी सहकारीको पहलमा इजरायल गएका थिए । हाँडीखोलाकी अचला पौडेलले २ बिघामा भेडे खुर्सानी, गोलभेडा र काउली खेती गरेकी छन् । उनले पनि इजरायलको सीपलाई यहाँ प्रयोग गरेकी हुन् । त्यहाँ जानु अघिसम्म तरकारी खेती गर्न रुचि थिएन । उनले आफूले मात्र खेती गरेकी छैनन् । अरूलाई उन्नत तरिका सिकाएकी छन् । उनले गरेको तरकारी खेती हेर्न कृषक आउने गरेका छन् । इजरायलमा खेती गर्न सिकेर आएका पदमपोखरीका सानु लामाले गाउँमा अंगुर खेती लगाएका छन् । कृषि कार्यालयले इजरायलबाट तरकारी र फलफूल उत्पादन गर्न सिकेर फर्केका युवालाई अनुदान दिने गरेको छ । कार्यालयले यसरी फर्केका बीच गरेको अन्तक्र्रियामा ३ महिलासहित १२ युवा सहभागी थिए । ‘इजरायलले थोपा सिँचाइको भरमा बालुवामा मनग्ये तरकारी उत्पादन गर्न सफल भएको छ,’ वज्रबाराहीका कृष्ण भट्टले भने, ‘प्रविधि र प्राविधिक भएपछि तरकारी खेती गर्न सकिँदोरहेछ ।’ भट्ट शिक्षक पेसा छाडेर इजरायलमा सीप सिक्न गएका थिए । यसरी फर्केका युवाको अनुभव जिल्लाको कृषि विकासमा महत्त्वपूर्ण हुने कृषि कार्यालयका प्रमुख निर्मल गदालले बताए । युवाहरूले नेपाल र इजरायलको कृषि प्रणालीको तुलना गरेका थिए । इजरायलमा ५ प्रतिशतमात्र नागरिक कृषिमा संलग्न छन तर मुलुकको मागलाई पूरा गरेर निर्यात गर्छन् । नेपालमा ९० प्रतिशत नागरिक कृषिमा आबद्ध छन् । तर मुलुकलाई आत्मनिर्भर बनाउन नसेकेको इजरायलबाट फर्केका युवा उप्रेतीले सुनाए । Published on: 18 June 2015 | Kantipur  

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024