ईपीएस परीक्षा असोज पहिलो साता

11 May, 2015

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत छैटौं कोरियाली भाषा परीक्षा असोज पहिलो साता हुने भएको छ। एचआरडी कोरियाका प्रतिनिधि र नेपाली अधिकारीहरूले आइतबार वर्षायामपछि मात्र परीक्षा सञ्चालन गर्ने निर्णय गरेअनुसार असोज पहिलो साता हुने तय भएको हो। आइतबार भएको द्विपक्षीय बैठकले गरेको निर्णय निर्देशक समितिमा पेस गरेपछि परीक्षा मिति निर्धारण हुनेछ। समितिको बैठक छिट्टै बस्ने ईपीएस शाखा नेपालका निर्देशक डिल्लीराम बास्तोलाले बताए। मध्य वर्षामा परीक्षार्थीको कठिनाइलाई मध्यनजर गरेर असोज पहिलो हप्ता परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको बास्तोलाको भनाइ थियो। कोरियन अधिकारीहरूले अझ पछि सार्ने प्रस्ताव ल्याए पनि नेपाली पक्षले परीक्षा छिटो सञ्चालन हुनुपर्नेमा जोड दिएको थियो। ईपीएसको पुरानो कार्यतालिका अनुसार जेठ ३० र ३१ गते परीक्षा सञ्चालन गर्न लागिएको थियो तर वैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण ४ महिना पछि सारिएको हो।  २०१६ को कोटाबाट कोरिया भित्र्याउने गरि लिन लागिएको परीक्षाका लागि २०७२ वैशाख ३ देखि ६ गतेसम्म आवेदन संकलन गरिएको थियो। काठमाडौं उपत्यकाभित्र पाँच स्थान र उपत्यका बाहिर पाँच क्षेत्रबाट ५१ हजार ३ सय जनाले आवेदन फारम भरेका थिए। परीक्षा मिति सरेपछि परीक्षाफल प्रकाश मिति पनि हेरफेर हुने भएको छ। यो वर्षको परीक्षाबाट उत्पादनमूलक क्षेत्रतर्फ ४ हजार ९ सय र कृषि तथा पशुपालन क्षेत्रतर्फ २ हजार २ सय गरि ७ हजार १ सय अनुमानित उत्तीर्ण सङख्या एचआरडी कोरियाले तोकेको छ। विगत वर्षहरूमा साउन महिनामा आवेदन संकलन गरेर असोजमा परीक्षा सञ्चालन हुने गरेको थियो।  त्यस्तै भूकम्पले ईपीएससम्बन्धी कुनै काम प्रभावित नभएको ईपीएस शाखा नेपालले जनाएको छ। यससम्बन्धी तालिम, श्रम करार सम्झौता, भिसा प्रकृया, उडान प्रबन्धलगायत ईपीएससँग सम्बन्धित सम्पूर्ण काम नियमित रूपमा सम्पादन भइरहेको शाखाको विज्ञप्तिमा जनाइएको छ। भूकम्प आएपछि मात्र करिब ८ सय नेपाली युवा कोरिया भित्रिएको निर्देशक बास्तोलाले बताए। ‘एचआरडी कोरिया र ट्राभल एजेन्सीसँग क्लोज कोअडिर्नेसन गरेर भए पनि कामदारलाई कोरिया पठायौं।’ 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024