भारतीय धर्मगुरु रामपालको हिसारस्थित आश्रमबाट पक्राउ परेर स्थानीय जेलमा राखिएका २४ नेपाली भक्तजनमध्ये ७ जनालाई गम्भीर अभियोगको मुद्दा लगाइने भएको छ । गत मंसिर ३ मा हिसारको चण्डीगढ रोडस्थित सतलोक आश्रमबाट रामपालसहित ९ सय ३५ जनालाई पक्राउ गरेर न्यायिक हिरासतमा राखिएको थियो । रामपालका भक्तजन बनेर गएका २४ नेपाली त्यही हुलमुलमा पक्राउ परेपछि हिरासतमा छन् ।
‘सुरुमा तीन महिनाका लागि न्यायिक हिरासतमा राखिने भनिएको थियो,’ हिसारको जेलकाण्डमा परेका नेपालीको मुद्दा हेरिरहेका दूतावासका काउन्सिलर राजेन्द्रमान श्रेष्ठले कान्तिपुरसँग भने, ‘स्थानीय अदालतमा अभियोगपत्र दर्ता गरिसकिएको अवस्थामा १७ जनालाई धरौटी तिरेर जेलमुक्त गराउन सकिने भएको छ ।’
काउन्सिलर श्रेष्ठका अनुसार रामपालसम्बद्ध यस मुद्दामा ७ नेपालीका हकमा ‘हातहतियार राखेको, ज्यान मार्ने उद्योग सञ्चालन गरेको, राज्यविरुद्ध विद्रोह गराउन खोजेको’ जस्ता गम्भीर प्रकृतिका अभियोग लगाइएको छ । उनका अनुसार गम्भीर प्रकृतिका अभियोग लगाइएका नेपालीमा लक्ष्मण बस्नेत -सुनसरी), ईश्वरकुमार श्रेष्ठ -धनुषा), राजकुमार गिरी -काठमाडौं), विजयकुमार साह (सिरहा), योगेन्द्र चन्द (कञ्चनपुर), विनोदकुमार यादव (सिरहा) र सुरेशराज राई (मोरङ) छन् ।