वैदेशिक रोजगारका लागि भन्दै अवैध रूपमा खाडी पुर्याइएकी कोहलपुरकी सरिताको उद्धार सम्भव त भयो तर, विदेश पठाउनेविरुद्ध ढिलो गरी जाहेरी पर्यो । घटनाको अनुसन्धानपछि मुद्दा अदालत पुग्यो । तर मुद्दाको मिसिलमा भने उनलाई लगिएको मुलुकको न राहदानी थियो न त फर्केर आउँदाको हवाइजहाज टिकट नै । खाडी मुलुक पुगेपछि सरितासँग रहेको राहदानीलगायत कागज उतैका साहुले राखे । घर फर्काइँदा दिएको टिकट उनलाई विदेश पठाउने व्यक्तिले काठमाडौं एयरपोर्टमा झार्नेबित्तिकै खोसे । प्रमाण अभावमा मुद्दा कमजोर भयो ।
सरितालाई अवैध रूपमा विदेश पठाउने भीमबहादुर र मानसिंह दमैविरुद्ध मानव बेखबिखन अभियोगसहित मुद्दा दर्ता गरिएको थियो । ०७० चैत २१ गते विदेशबाट फर्काइएकी उनले फागुन ६ गते प्रहरीमा उजुरी दिएकी थिइन् ।
त्यस्तै, खाडी मुलुक पठाउने भन्दै तीन किशोरीलाई भारत लैजाँदै गरेको अवस्थामा भारत बहराइचका गणेश वलीलाई पक्राउ गरेको थियो । उनले भारतस्थित नेपाली दूतावासबाट नेपाली नागरिकता र राहदानी बनाइदिने भन्दै ती किशोरीलाई भारत लैजाँदै गर्दा सीमास्थित जमुनाहा प्रहरीले पक्राउ गरेको हो । उक्त घटनाको उजुरी पनि एक साता ढिलो पर्यो । घटना पुष्टिका लागि प्रमाण अभाव भयो । ०६७ असारमा वलीमाथि चलाएको मानव बेचबिखन मुद्दा असफल भयो । मानव तस्करीको आरोप लगाइएका वलीले अदालतबाट सफाइ पाए ।
यस्ता घटनामा ढिलो गरी उजुरी पर्ने र प्रमाण अभावमा पीडित महिलाको पक्षमा न्याय पर्न नसकेका यस्ता धेरै घटना छन् । ढिलो गरी उजुरी पर्दा प्रमाण नष्ट हुने गरेको छ । त्यस्तै, मानव तस्करमा संलग्न दलालले गैरकानुनी तरिकाले विदेश पठाउँदा प्रमाण पनि नष्ट गर्छन् । यही कारण पीडितले न्याय नपाउने र आरोपीले सफाइ पाउँदै गएको अधिकारीहरू बताउँछन् । ‘विदेशमा बिक्री गरेको जाहेरी परेको हुन्छ । तर त्यहाँ लगिएको भिसा र हवाइजहाजको टिकट प्रमाणका लागि पेस गरिएका हुँदैनन् । फर्केर आएको पनि कुनै प्रमाण मिसिलमा राखिँदैन,’ मानव बेचबिखन तथा ओसारपसारविरुद्ध समन्वय बैठकमा बाँके जिल्ला अदालतका न्यायाधीश हरिप्रताप केसीले भने, ‘मानव बेचबिखनजस्तो संवेदनशील मुद्दाको सुनुवाइ गर्दा प्रमाण नहुँदा न्याय दिन समस्या हुन्छ । आधार र कारण नै नखुलाई कसरी सजाय सुनाउनु ? प्रमाणबिना मुद्दाको फैसला गर्ने हो भने अदालत स्वेच्छचारी हुन सक्छ ।’ उनले त्यस्ता घटनामा तत्काल जाहेरी दिन सुझाव दिए । पक्राउ परेको तीन/दिनपछि उजुरी पर्दा पनि प्रमाण लोप हुन सक्ने उनको भनाइ छ ।
प्रमाण अभावमा मानव बेचबिखनका मुद्दा यसरी नै असफल हुने गरेपछि सही न्याय पर्न सकेको छैन । घटनामा संलग्न व्यक्तिहरू सफाइ पाउँदा मानव तस्करीका घटना नियन्त्रण हुन सकेको छैन । ‘पीडितको बयानले पनि त्यसमा महत्त्व राख्छ । तर बयान फेर्ने प्रवृत्ति पनि छ । जाहेरीमा एउटा भन्ने र बयान गर्दा इन्कार गर्दा पनि मुद्दा प्रभावित हुने गरेको छ,’ जिल्ला न्यायाधिवक्ता सुरेन्द्रजंग शाहीले भने, ‘बयान फेर्ने, उजुरीविरुद्ध बयान गर्नेलाई कारबाही हुने कानुनलाई कार्यान्वयन गरिनुपर्छ ।’
बाँके प्रहरी प्रवक्ता डीएसपी सुशीलसिंह राठौरले कतिपय घटनामा फर्जी उजुरी पर्ने गरेको बताए । ‘प्रेम गरेर भारतमा लुक्न जान्छन् । परिवारले अपहरण तथा बेचबिखन गरेको उजुरी गर्छन्,’ उनले भने, ‘यस्ता गलत उजुरीका आधारमा चलाइएका मुद्दा सफल हुँदैनन् ।’ मानव बेखबिखनविरुद्ध काम गर्दै आएका अधिकारवादीले पीडित र उनका परामर्श लिंदा उजुरी दिनमा केही दिन ढिलाइ हुने गरेको बताउँछन् । अधिवक्ताद्वय वासुदेव ज्ञवाली र केशव कोइरालाले दलालहरूले विदेश पठाउने दलालले कागजात पीडितसँग खोसेर नष्ट गर्ने भएकाले समस्या भएको बताए ।