‘धन कमाउने आसमा घर छोड्दा मिर्गौला काम नलाग्ने भए’, भक्त पुरस्थित मानवअंग प्रत्यारोपण केन्द्रमा उपचार गर्न पुगेका रुकुमका २९ वर्षीय लीलाबहादुर घर्तीले भने, ‘गरिबले जहाँ पनि हन्डरै खानुपर्ने।’ परिवार पाल्ने विकल्प खोज्न घर्ती पाँच वर्षअघि कतार पुगेका थिए। ‘जाने बेला सबै अंग जाँच गरेर गएको थिएँ। डाक्टरले तिमी स्वस्थ छौ भन्थे। त्यहाँको कडा कामले रोगी बनायो’, उनले भने, ‘घर न घाटको भएँ।’ भनेजस्तो काम नपाएपछि डकर्मीको काम थालेका उनले अत्यधिक गर्मीमा पसिना बगाउँदै दैनिक १४ घन्टासम्म धुलो र सिमिन्टेमा खट्नुपर्यो। ‘५० डिग्री सेल्सियसको तापक्रममा काम गर्नुपर्थ्यो। पिउने पानी अभाव थियो। किनेर खान सकिएन, खाना र आरामको ठेगान भएन’, उनले भने। उनलाई छिनछिनमा पिसाब लाग्ने, थकाइ लाग्ने, छाला चिलाउने, भोक नलाग्ने, मुख तितो हुनेजस्ता मिर्गौला रोगका लक्षण देखिएका थिए। महँगो शुल्कले अस्पताल जाने आँट गर्न सकेनन्। रोगले च्याप्दै लगेपछि आठ महिनाअघि नेपाल फर्किएका घर्तीले त्रिवि शिक्षण अस्पतालमा जाँच गर्दा उनका दुवै मिर्गौला काम नलाग्ने भएछन्। अवस्था नाजुक बन्दै गएपछि घर्तीले मिर्गौला प्रत्यारोपण गरे। उपचारमा करिब १७ लाख रुपैयाँ खर्च भयो। घर्तीजस्तै कतार, मलेसिया, साउदी अरब, संयुक्त अरब इमिरेट्सलगायत खाडी मुलुकमा काम गर्न गएका नेपाली युवामध्ये मिर्गौला रोगबाट ग्रसित हुनेको सं या ठूलो छ। त्यस्ता युवामध्ये कतिपय परदेशको चर्को उपचार शुल्कका कारण स्वदेश फर्कन थालेका छन्। घर्तीसँगै कतारबाट फर्किएका आठजना युवाले यस वर्ष मिर्गौला प्रत्यारोपण गराएका छन्। संयुक्त अरब इमिरेट्स र मलेसियाबाट फर्किएका अन्य सातले पनि मिर्गौला प्रत्यारोपण गराएका छन्। म्याग्दीका ३० वर्षीय हरि घर्ती पनि कतारमा सात वर्षको मजदुरीपछि एकैपटक थला परे। एकैपटक वाकवाक लाग्ने, स्याँस्याँ हुने, खुट्टाको मासु फर्कने, सुन्निनेजस्ता समस्या देखिए। उपचार क्षमता नभएपछि उनी काम छोडेर सात महिनाअघि फर्किए। परीक्षणका क्रममा उनका दुवै मिर्गौला काम नलाग्ने पाइए। केही समयको डायलसिसपछि उनले भक्तपुरमा मिर्गौला प्रत्यारोपण गरे। ‘मलाई बचाउन मेरी आमाले मलाई मिर्गौला दिनुभयो’, उनले भने, ‘विदेश गएपछि धेरै धन कमाएर उहाँलाई दिने मेरो इच्छा भने अपुरो भयो।’ उपचारका लागि उनले करिब १४ लाख रुपैयाँ खर्च गरिसकेका छन्। चार वर्षअघि मलेसिया पुगेका संखुवासभा खाँदबारीका ३३ वर्षीय मदनकुमार शर्मा मिर्गौला बिग्रिएपछि गत पुसमा स्वदेश फर्किए। घर फर्किएको केही दिनमै उनी थला परे। ‘धनी बन्ने सपना देख्दै विदेश हानिएको थिएँ। हामीले देखेको सपना र त्यहाँको यथार्थ फरक रहेछ’, उनले भने, ‘स्टोरमा काम गर्ने भनेर गएको दिनभर चर्को घाममा खट्नुपर्यो।’ म्याग्दी बेनीका ३६ वर्षीय भूपेन्द्र मगरले पनि धन कमाउने आसमा बिदेसिँदा मिर्गौला बिगारेर फर्किए। ‘पहिले त कामै नपाइने, पाइहाल्यो भने पनि घोडाजस्तै लादिनुपर्ने। त्यसले गर्दा स्वास्थ्यमा ध्यान दिन पाइएन, जसको फल पीडादायी भयो’, संयुक्त अरब इमिरेट्सबाट फर्केका उनले भने। स्याङ्जा वालिङका ३२ वर्षीय दीपक खवास पाँच वर्षपहिले कतार पुगेका थिए। शरीरले थेग्न नसक्ने डकर्मीको काम गर्नुपर्ने बाध्यता उनलाई आइलाग्यो। थला परेपछि उनी कहिलै विदेश नजाने प्रतिज्ञा गर्दै घर फर्किए। नेपाल पर्किएर उपचार गर्दागर्दै उनले घरबारी बेच्नुप:यो। गत भदौमा मिर्गौला प्रत्यारोपण गरेका उनले भने, ‘एकपटक रोग लागेपछि जीवन सकिएजस्तै हुने रहेछ। त्यही भएर बेलैमा विचार पु:याउनुपर्ने रहेछ, थाहा पनि भएन, भनिदिने पनि केही भएन।’ कामका लागि बिदेसिएका नेपाली युवाको मिर्गौला फेल हुने क्रम बढेको अस्पतालको तथ्यांक छ। भक्त पुरस्थित मानवअंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले केन्द्रमा हालसम्म मिर्गौला प्रत्यारोपण गराएकामध्ये २० प्रतिशत विदेशबाट फर्किएका बिरामी रहेको बताए। ‘बाहिरबाट फर्किएका बिरामीको मिर्गौला फेल हुने क्रम बढेको छ। कारण पत्ता लगाउन विस्तृत अध्ययन गर्न जरुरी छ’, उनले भने। त्रिवि शिक्षण अस्पतालमा अहिलेसम्म मिर्गौला प्रत्यारोपण गरिएका तीन सय बिरामीमध्ये विदेशबाट थला परेर आएकाको सं या एक तिहाइ रहेको अस्पतालका मिर्गौला शल्यचिकित्सक डा. पवनराज चालिसेले जानकारी दिए। ‘अवस्था अत्यन्त गम्भीर छ, कसरी यो समस्या न्यूनीकरण गर्ने हो? यो युवाका लागि मात्र होइन, नेपालकै लागि चुनौती हो’, उनले भने, ‘थला परेपछि नेपाल सम्झिँदै युवाहरू फर्किन्छन्। डायलसिस वा प्रत्यारोपणको विकल्प रहन्न तर उनीहरूसँग पैसा हुँदैन।’ उनका अनुसार खाडी मुलुकको अत्यधिक गर्मीमा काम गर्नुपर्ने बाध्यता नेपाली युवाको मिर्गौला बिग्रनुको कारण हो। ‘गर्मीमा काम गर्दा अत्यधिक पसिना जान्छ। उनीहरू पर्याप्त पानी खान पाउँदैनन्, जसका कारण डिहाइड्रेसन हुन्छ’, उनले भने, ‘जुसलाई मिर्गौला बिग्रनुको मुख्य कारण मानिन्छ।’