वैदेशिक रोजगार विभागका आठ कर्मचारी निलम्बित

10 March, 2015

अवैध ढंगले दक्षिण कोरिया पठाउने गिरोह सँगको मिलेमतोमा नक्कली कागजातका आधारमा श्रम स्विकृत दिने वैदेशिक रोजगार विभाग काठमाडौ कार्यालयका एक अधिकृत सहित आठ जना कर्मचारी निलम्बित भएका छन। श्रम मन्त्रालय र वैदेशिक रोजगार विभाग काठमाडौ कार्यालयले व्यक्तिगत श्रम स्विकृतीको नया र वैधानिकरण शाखामा कार्यरत अधिकृत सहित आठ जना कर्मचारीलाई निलम्बन गरेको हो। 

निलम्बनमा पर्नेहरुमा शाखा अधिकृत सिद्धराज चटौत, नायव सुव्वाहरु मित्र लुइटेल, कमल मरासिनी, पदम वहादुर शाही, कविराज उपाध्याय र सुर्दशन खनाल छन। 

काठमाडौ कार्यालयले कम्युटर अप्रेटर अमर महरा र टाइपिष्ट नायव सुब्बा उषा महर्जनलाई पनि निलम्बन गरेको छ। विभागको काठमाडौ कार्यालयले सात जनालाई फागुन १९ र शाखा अधिकृत चतौटलाई श्रम मन्त्रालयले फागुन २० मा निलम्बन गरेको हो। 

निलम्बित सवै कर्मचारी व्यक्तिगत श्रम स्विकृत शाखामा कार्यरत थिए । उनीहरुले दलालसॅगको मिलेमतोमा नक्कली कागजपत्रमा व्यक्तिगत श्रमस्विकृत दिएका थिए ।

वैदेशिक रोजगार विभागका निमित्त प्रमुख भेष वहादुर कार्कीले कोरिया प्रकरणमा संलग्न ८ जनालाई निलम्बन गरिएको बताए।

विभागको काठमाडौ कार्यालय प्रमुख मधुविलास पण्डितले व्यक्तिगत श्रम स्विकृती दिएका सवै कामदारको फाइल नियन्त्रणमा लिइ अध्ययान थालिएको बताए । 

प्रमाण नलुकोस भनेर ती शाखाका कर्मचारीहरुलाई निलम्बन गरिएको पण्डितले बताए।

नया बानेश्वर स्थित युनाइटेड एचआर कन्सल्टेन्सी एण्ड ट्रेनिङ सेन्टरले दक्षिण कोरियाका तीन वटा पानी जहाजमा कामका लागि पठाइ दिने आश्वासन दिएर उनीहरुबाट जनही आठ लाख रुपयॉ उठाएको थियो ।

कन्सल्टयान्सीले ३७ जना युवाहरुबाट पैसा उठाएको थियो। दक्षिण कोरियाका हानहुल, सिपिङ बैंक सिओल र पेन हुल नामका तीन कम्पनीले रोजगारी सुनिश्चित गरेको भन्दै उक्त कन्सल्टयान्सीले युवाहरुबाट पैसा उठाएको थियो। 

दलालहरुले ती कामदारलाई प्रति महिना १३सय ५० अमेरिकी डलर पाउने भन्दै सम्झौता गराएका थिए।

कन्सल्टयान्सी संचालक मध्ये अप्सरा श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको भए पनि प्रकाश तिवारी, शारदा कुमार मगर र दानवहादुर पुन अझै फरार छन । ती दलालहरुले अन्य धेरै युवाहरुबाट रकम उठाएको स्रोतले बताएको छ। 

कन्सल्टयान्सीले पेश गरेका तीनै नक्कली कागजातका आधारमा विभागको काठमाडौ कार्यालयले व्यक्तिगत श्रम स्विकृती दिएको थियो। 

नक्कली कागजपत्र तयार पारी वैदेशिक रोजगार विभाग काठमाडौ कार्यालयबाट श्रम स्विकृत दिलाएर फागुन १४ गते दक्षिण कोरिया जान लागेका उनीहरुलाइ विमानस्थलबाट फर्काइएपछि ठगीको रहस्य खुलेको थियो।  

त्‍यसपछि ती युवाहरुले वैदेशिक रोजगार विभागमा उजुरी दिउका थिए। आफ्नो फसेको पैसा फिर्ता र दोषीलाइ कडा कारवाहीको माग गर्दै विभागमा तालाबन्दी गरेका छन्। 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024