वैदेशिक रोजगारीमा जानेको संख्या ३१ दसमलब २६ प्रतिशतले बढेको छ। गत वर्ष माघ महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही महिनामा बिदेसिनेको संख्या बढेको हो।
आन्तरिक बजारमा रोजगारीको अवसर न्यून भएकाले न्यूनतम तलबसुविधामा पनि काम गर्न विदेश जानेको संख्या ह्वात्तै बढेको हो। वैदेशिक रोजगार विभागले उपलब्ध गराएको पछिल्लो तथ्यांकअनुसार गएको माघमा कुल ४८ हजार नौ सय ४१ जना कामदार बिदेसिएका छन्।
गत वर्ष सोही अवधिमा जम्मा ३७ हजार दुई सय ८५ जनामात्र विदेश गएका थिए। यो प्रतिशतमा हिसाब गर्दा ३१ दसमलब २६ ले बढी हो।
कुल बिदेसिने बढे पनि महिलाको संख्या भने अहिले पनि अति न्यून छ। माघमा गएकामध्ये पुरु ष कामदार ९६ दसमलब ३४ प्रतिशत छन् भने महिलाको संख्या तीन दसमलब ६६ प्रतिशतमात्र छ।
यो तथ्यांकले कमाइ गर्न बिदेसिनेमा अझै पुरुषकै वर्चस्व रहेको देखाउँछ। जाने कामदारको संख्या बर्सेनि बढे पनि गन्तव्य भने परिमार्जन हुन सकेको छैन। दशकदेखि नेपाली कामदारको रोजगारी गन्तव्य मलेसिया र खाडी मुलुकमै केन्द्रित छ।
कुल बिदेसिने बढे पनि महिलाको संख्या भने अहिले पनि अति न्यून छ। माघमा गएकामध्ये पुरु ष कामदार ९६.३४ प्रतिशत छन् भने महिला जम्मा ३.६६ प्रतिशतमात्र छन्। यो तथ्यांकले कमाइ गर्न बिदेसिनेमा अझै पुरुषकै वर्चस्व रहेको देखाउँछ।
गएको माघ महिनामा पनि सबैभन्दा धेरै नेपाली मलेसिया गएका छन्। मलेसियामा मात्र माघमा कुल २० हजार दुई सय ९९ जना युवा रोजगारीका लागि पुगेका छन्। विगत तीन वर्षदेखि मलेसिया लगातार नेपाली कामदारको पहिलो रोजगारी गन्तव्य बनेको छ।
तुलनात्मक रूपमा काम गर्न सजिलो, मिल्दोजुल्दो हावापानी तथा खुला समाज भएकाले नेपाली कामदार मलेसियातर्फ आकर्षित भएका हुन्। यसबाहेक मलेसियामा भौतिक पूर्वाधार विस्तारको काम द्रुत गतिमा अघि बढिरहेको छ।
मलेसियाले आफूलाई सन् २०१८ भित्र विकसित मुलुकमा रूपान्तरण गर्ने लक्ष्यका साथ काम गरिरहेको छ। यसका लागि हजारौं संख्यामा विदेशी कामदारको माग भएको हो। उद्योगधन्दा सञ्चालन गर्न सजिलो भएकाले त्यहाँ धमाधम बहुराष्ट्रिय कम्पनी खुलिरहेका छन्।
नेपाली कामदारको दोस्रो रोजाइको मुलुक भने कतार बनेको छ। यो मुलुकमा माघ महिनामा १० हजार सात सय ६४ जना कामदार पुगेका छन्।
कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबल खेलको तयारीका लागि रंगशालासहित अन्य पूर्वाधार विस्तारको कार्य भइरहेकाले विदेशी कामदारको माग बढेको हो। नेपालीसमेत यस कामका लागि धमाधम गइरहेको यानपावर व्यवसायीले जानकारी दिएका छन्।
यसपटक तेस्रो धेरै कामदार जाने मुलुकमा साउदी अरब परेको छ। साउदीमा १० हजार चार सय २६ जना नेपाली गएका छन्। सरकारले वैदेशिक रोजगारीमा जान एक सय १२ वटा मुलुक खुला गरे पनि हालसम्म नेपाली कामदार पठाउने गन्तव्य भने दुईदर्जनभन्दा कममा सीमित हुँदै आएको छ।
अन्य मुलुकमा एकाध जना कामदारमात्र जाने गरेका छन्। आकर्षक कमाइ हुने पश्चिमा मुलुकमा कामदार पठाउन सरकारले पहल गरेको छैन।
बजार प्रवर्द्धन पनि हुन सकेको छैन। हाल कामको खोजीमा दैनिक औसतमा १५ सयजना नेपाली बिदेसिने गरेका छन्। सरकारको अनुमति लिएर बिदेसिनेको संख्या ३५ लाख नाघिसकेको छ।
बिदेसिनेको संख्या बढे पनि नेपालले आफ्ना कामदारलाई दक्ष बनाएर पठाउन भने सकेको छैन। कुल बिदेसिनेमध्ये करिब ८० प्रतिशत अदक्ष कामदार छन्।
बाँकी मात्र अर्धदक्ष र दक्ष कामदार हुन्। यसमा पनि दक्षको संख्या चार प्रतिशतभन्दा कम छ। नेपालीमा कामसम्बन्धी प्राविधिक सीप अभाव भएको गुनासो रोजगारदाताले गर्दै आएका छन्।