पूर्वस्वीकृति लिनुअघि र पूर्वस्वीकृति लिएको ७ दिन नबित्दै भिसा लागेका करिब २ हजार मानिस वैदेशिक रोजगारीमा काम गर्न जान श्रम स्वीकृति नपाएर समस्यामा परेका छन् ।
वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ऐनअनुसार पूर्वस्वीकृति लिनुअघि र पूर्वस्वीकृति लिएको ७ दिनअघि भिसा लाग्न नसक्ने भन्दै श्रम स्वीकृति नदिएपछि वैदेशिक रोजगारीमा जान चाहने त्यस्ता मानिस समस्यामा परेका हुन् । ‘पूर्वस्वीकृति लिएको ७ दिनअघि र पूर्वस्वीकृति लिनुअघि भिसा लागेका मानिस झन्डै २ हजार होलान्,’ विभागका एक अधिकारीले भने, ‘कानुनी प्रक्रिया पूरा गर्दा कामदारको भिसा ७ दिनअघि लाग्न सक्ने देखिँदैन । त्यहीभएर त्यस्ता उनीहरूको श्रम स्वीकृति रोकिएको छ ।’ वैदेशिक रोजगारीमा जान सबैभन्दा पहिला कामदार आवश्यक पर्ने देशका रोजगारदाता कम्पनीले कामदार माग गर्छन् । त्यस्तो मागको आधिकारिकता सम्बन्धित देशमा रहेको नेपाली कूटनीतिक दूतावास, श्रम सहचारी वा अन्य आधिकारिक निकाय, चेम्बर अफ कमर्स वा नोटरी पब्लिकले जाँचेर प्रमाणित गर्छ । वैदेशिक रोजगार कम्पनीले त्यस्तो माग विभागमा पेस गर्छन् । विभागले वैदेशिक रोजगार कम्पनीलाई ४ दिनभित्र नेपाली कामदार पठाउनेबारे कारबाही सुरु गर्न पूर्वस्वीकृति दिन्छ । त्यसपछि वैदेशिक रोजगार कम्पनीले कामदार छनोट गर्न राष्ट्रियस्तरको दैनिक पत्रिकामा ७ दिने सूचना जारी गर्छ ।
वैदेशिक रोजगारीमा जान चाहने कामदारले त्यस्तो सूचनाका आधारमा वैदेशिक रोजगार कम्पनीमा आवेदन दिन्छन् । वैदेशिक रोजगार कम्पनीले आवेदन दिएकामध्येबाट कामदार छनोट गर्छ र स्वास्थ्य परीक्षण गराउँछ । स्वास्थ्य परीक्षणमा पनि सफल भएपछि त्यस्ता कामदारको भिसाका लागि प्रक्रिया सुरु गर्छ । छानिएका कामदारको राहदानी भिसा लगाउन विदेश लैजानुपर्नेछ भने विभागबाट स्वीकृति लिनुपर्ने व्यवस्था छ । ‘तर पूर्वस्वीकृति नलिई भिसा लागेका र पूर्वस्वीकृति लिएको ७ दिन नबित्दै भिसा लागेको राहदानी अन्तिम स्वीकृतिका लागि विभाग आउने गरेको छ,’ विभागका ती अधिकारीले भने, ‘कानूनी प्रक्रिया नै मिचिएपछि हामी श्रम स्वीकृति जारी गर्न सक्दैनौं । ती अधिकारीले माथिल्लो तहबाट निर्णय भए त्यसरी रोकिएका मानिसलाई वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति दिन समस्या नभएको पनि बताए । ‘मन्त्रीस्तरमा वा मन्त्रिपरिषद्बाट निर्णय भयो भने उनीहरूलाई श्रम स्वीकृति दिन सकिन्छ,’ उनले भने, ‘विभागले सक्दैन । फेरि अख्तियारको बिगबिगी छ ।’ श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले वैदेशिक रोजगारीको बद्मासीका कारण पूर्वस्वीकृति लिनुअघि र पूर्वस्वीकृति लिएको ७ दिन नबित्दै भिसा लाग्ने गरेको बताए । ‘एजेन्टले गाउँगाउँबाट राहदानी संकलन गरेर ल्याउँछन् र सोझै भिसाका लागि प्रक्रिया सुरु गर्छन्,’ उनले भने, ‘त्यसपछि कामदारको माग खोज्न सुरु गर्छन् । माग पाएर पूर्वस्वीकृतिका लागि विभागमा आइसकेको हुँदैन, भिसा लागिसक्छ ।’ उनले यो अवस्था केही महिनाभित्र अन्त्य गर्ने पनि बताए । वैदेशिक रोजगार संघका निवर्तमान अध्यक्ष बलबहादुर तामाङले पूर्वस्वीकृति लिनु ७ दिनअघि वा पूर्वस्वीकृति लिनुअघि भिसा लाग्ने समस्या प्राविधिक भएको बताए । ‘अनलाइन भिसा आवदेन गर्न मिल्ने कतार, बहराइन, कुवेत, यूएई र ओमनलगायत मुलुकमा यो समस्या छ,’ उनले भने, ‘यो प्राविधिक समस्या हो । भिसा भनेको भिसा नै हो । कम्पनी फरक नपरे, तलब र सुविधा फरक नपरे रोक्नु हुन्न । रोकेर कसैलाई फाइदा छैन । काम गर्न जाने मान्छेलाई पीडा मात्र हुन्छ ।’ उनका अनुसार कामदारको माग आउँदा ‘लेबर’ भनेर एकमुष्ट आउने तर भिसा लाग्दा ‘क्लिनर’, ‘हेल्पर’ आदि भनेर छुट्टनिे भएकाले यो समस्या आएको हो । ‘लेबरमा पूर्वस्वीकृति लिएको छ भने विभागले ऐनअनुसार श्रम स्वीकृति पनि लेबरमै जारी गर्छ,’ उनले भने, ‘तर भिसा भने क्लिनर वा हेल्पर भनेर लागेको हुन्छ । यस्तो अवस्थामा फेरि पूर्वस्वीकृति लिनुपर्छ । त्यही भएर पूर्वस्वीकृति लिनुभन्दा अघि भिसा लाग्ने गरेको देखिएको हो ।’ उनले यस्तो अवस्था अन्त्य गर्न तत्काल मन्त्रिपरिषद्बाट निर्णय गराई रोकिएका कामदार पठाउनुपर्ने बताए । ‘ऐनमा संशोधन आवश्यक छ,’ उनले भने, ‘तर यो प्राविधिक समस्या भएकाले बाधा अडकाउ फुकाउसम्बन्धी व्यवस्थाअनुसार तत्काल मन्त्रिपरिषद्बाट निर्णय गरी कामदारलाई श्रम स्वीकृति दिनुपर्छ ।’ त्यसका लागि मन्त्रालयले पहल गर्नुपर्ने उनले बताए । ‘नभए यो अवस्था लामो समय रहे यसले चलखेललाई प्रोत्साहित गर्छ,’ उनले भने । यसअघि पनि मन्त्रालयले निर्णय गरी यसरी रोकिएका मानिसलाई वैदेशिक रोजगारीमा जाने बाटो खोलिदिएको थियो ।