मलेसियामा हिमालयनको सम्पर्क कार्यालय

11 February, 2015

हिमालयन बैंकले मलेसियाको मेदान पासार सहर क्वालालम्पुरमा सम्पर्क कार्यालय स्थापना गरेको छ। बैंकका अध्यक्ष मनोजबहादुर श्रेष्ठले मंगलबार उक्त सम्पर्क कार्यालयको उद्घाटन गरे।अध्यक्ष श्रेष्ठले सम्पर्क कार्यालयको स्थापनाले नियमित विप्रेषण सेवामा सहजताका साथसाथै दुई देशबीचको व्यापार अभिवृद्धिमा पनि सघाउ पुग्ने विश्वास व्यक्त गरे। उनले दुई देशबीच लगानीका सम्भाव्य क्षेत्रहरु जस्तै पर्यटन, व्यापार, वित्तीय सेवा, संयुक्त लगानी, आधिकारीक बिक्री केन्द्र आदिको प्रवर्द्धनका लागि समेत थप अवसरहरु सिर्जना हुने बताए।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर जबराले सम्पर्क कार्यालयको स्थापनाले दुई देशबीचको व्यावसायिक तथा सामाजिक सम्बन्धको अभिवृद्धिमा कोशेढुंगो साबित हुने विश्वास व्यक्त गरे। 

हिमालयन बैंकले सन २००३ देखि रोजगारको सिलसिलामा मलेसियाको विभिन्न प्रान्त तथा सहरहरुमा बसोबास गरी काम गर्दै आएका नेपालीहरुका लागि हिमाल रेमिटमार्फत विप्रेषण सेवा उपलब्ध गराउँदै आएको छ। मलेसियास्थित नेपालीहरुलाई सहज विप्रेषण सेवा उपलब्ध गराउन हाल बैंकको करिब १४ वटा स्थानीय विप्रेषण कम्पनीहरुसँग साझेदारी गर्दै आएको छ। 

सम्पर्क कार्यालयको स्थापनाबाट मलेसियास्थित नेपाली कामदारहरुबीच बैंक प्रतिको विश्वासमा अझ वृद्धि हुने विश्वास बैकले लिएको छ। सम्पर्क कार्यालयले मलेसियास्थित नेपालीले आफ्ना परिवारका सदस्यहरुलाई विप्रेषण गरी रकम पठाउँदा वैधानिक माध्यमबाट मात्र रकम पठाउन पनि आह्वान गर्नेछ। सम्पर्क कार्यालयको स्थापनाले मलेसिया तथा नेपालबीच वैधानिक विप्रेषण कारोबारमा वृद्धि हुने जसबाट दुई देश बीचको व्यावसायिक तथा सामाजिक सम्बन्धमा अझ विस्तार हुने विश्वास बैंकले लिएको छ। 

समुद्घाटन समारोहमा मलेसियाका लागि नेपाली राजदूत निरञ्जनमानसिंह बस्न्यात, मलेसियास्थित नेपाली व्यापारीहरु, बैंकका साझेदार विप्रेषण कम्पनीका पदाधिकारीहरु, अन्य स्थानीय व्यक्तित्वहरु, बैंक सञ्चालक समितिका सदस्यहरु तथा बैंकका उच्चपदस्थ कर्मचारीहरुको पनि उपस्थिति थियो।

 

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024