नेपाली कामदारको मुख्य श्रम गन्तव्य मलेसियाको रोजगारीमा विवाद आउन थालेपछि त्यता जानेको संख्या घटेको छ। वैदेशिक रोजगार विभागको ताजा तथ्यांकले गत पुसमा मलेसिया जाने कामदारको संख्या प्रमुख गन्तव्यमध्येमै पर्ने युएई जानेभन्दा धेरैले घटेको देखाउँछ।
भिसा शुल्क वृद्धि र श्रमिकको स्वास्थ्य परीक्षणमा लागू हुन लागेको बायोमेटि्रक प्रणालीको विरोधबीच कामदार र व्यवसायी दुवैले विकल्प रोज्दा त्यता जाने संख्या घटेको हो। काम गर्न मलेसिया जाँदा तिर्नुपर्ने रकम एकपछि अर्को गरी बढ्दै गएको छ। म्यानपावर व्यवसायीले त्यसको विरोध गर्दै आएका छन्।
विभागले सार्वजनिक गरेको ताजा तथ्यांकअनुसार गत पुसमा १७ हजार ६० नेपाली मलेसिया गएका छन्। यो मंसिरको तुलनामा ५ हजार १४ जनाले घटी हो। यो संख्या एक महिनामा युएई गएका कामदारको कूल संख्याभन्दा पनि धेरै हो। पुसमा ४ हजार ७ सय ४३ जना युएई गएका थिए।
पुसमा १६ हजार ६ सय ७९ पुरुष र ३ सय ८१ महिला कामदार मलेसिया गएका छन्। मंसिरमा पुरुष २१ हजार ५ सय १० र महिला ५ सय ६४ गएका थिए। यसपालि पुसको संख्या पोहोर पुसको तुलनामा पनि कम हो। २०७० पुसमा १८ हजार ८ सय ७४ जना मलेसिया गएका थिए। यो संख्या यसपालिको भन्दा १८ सय १४ ले धेरै हो।
कतार, साउदी अरब, युएई र बहराइन जाने नेपाली भने बढेका छन्। मंसिरमा ११ हजार ५ सय २० कामदार कतार गएकोमा पुसमा बढेर १४ हजार ३ सय ५४ पुगेको छ।
मलेसियाको लागत ८० हजार रुपैयाँ भए पनि म्यानपावर व्यवसायीले डेढदेखि २ लाखसम्म लिने गरेकाले पनि कामदारहरुले विकल्प फेरेका हुन्। काठमाडौंस्थित मलेसियन दूतावासले एक वर्षअघिसम्म ७ सय लिने गरेको भिसा शुल्क बढाएर ३९ सय रुपैयाँ पुर्यामएको छ। यसले मलेसिया नेपाल भिएलएन प्रालिमार्फत भिसा प्रोसेसिङ शुल्क ३२ सय बढी उठाउन थालेको हो। पछिल्लो समय उसले स्वास्थ्य परीक्षणमा बायोमेटि्रक प्रणाली लागू गराउन खोजेको छ। यसले पनि कामदारको लागत बढाउने रोजगार व्यवसायीको तर्क छ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष हंशराज वाग्ले भिसा शुल्क र बायोमेटि्रकको आंशिक असर मलेसिया जाने कामदारमा देखिन थालेको बछाउँछन्। ‘मलेसियाको बढ्दो लागत र विवादबाहेक अन्य मुलुकको सुविधाले पनि कामदार आकर्षित गरेको छ,’ उनले भने।
म्यानपावर व्यवसायीले बायोमेटि्रक र भिएलएन बन्द नभए कामदार मलेसिया पठाउनै बन्द गर्ने चेतावनी दिइरहेका छन्। मलेसियाको रोजगारीबारे अर्को स्रोत मुलुक इन्डोनेसियामा चर्को विवाद छ। त्यहाँ पनि मलेसियाले भिसा शुल्क एकै चोटी १५ रिंगेट (४ सय ५० रुपैयाँ) बाट २ सय ५० रिंगेट (३ हजार ७ सय ५० रुपैयाँ) पुर्यािएको छ। त्यहाँ पनि स्वास्थ्य परीक्षणमा बायोमेटि्रक प्रणाली लागू गर्ने विषयमा विवाद रहेको मलेसियन सञ्चारमाध्यमले जनाएका छन्।
श्रम तथा रोजगार मन्त्रालयका सचिव भोलाप्रसाद शिवाकोटीले मलेसियाको रोजगारमा विवाद देखिएको असर त्यता जाने कामदारमा परेको बताए। ‘जताततै विवाद छ, यसले गर्दा कामदार र पठाउने व्यवसायीले पनि अर्काे मुलुक रोज्न थालेका छन्,’ उनले भने।
६ महिनामा २ लाख ७१ हजार बिदेसिए
कामको खोजीमा ६ महिनामा २ लाख ७१ हजार ३ सय ३९ नेपाली बिदेसिएका छन्। स्वदेशमा रोजगारीको अवसर सिर्जना नहुँदा बिदेसिनेको संख्या बढिरहेको छ। गत साउनदेखि पुससम्ममा बिदेसिएका कामदारमध्ये १ लाख १७ हजार ६ सय ८६ मलेसिया, ६३ हजार ३ सय १९ कतार, ४५ हजार २ सय ३० साउदी अरब र २८ हजार १४ जना युएई गएका छन्। त्यसैगरी, कुवेत ५ हजार ३ सय ३३, बहराइन २ हजार ३ सय ५३, ओमन हजार ५८, दक्षिण कोरिया २ हजार ४ सय ६६ र जापान १ हजार गएका छन्। लेबनान ४ सय ४१, इजरायल २ सय ४४, अफगानिस्तान ८ सय १४ र अन्य मुलुक ३ हजार ३ सय ८१ जना जना गएको विभागको तथ्यांकले देखाउँछ।