कतारमा ज्यान गुमाउने २० जनाका परिवारलाई क्षतिपूर्ति

14 January, 2015

वैदेशिक रोजगारका लागि कतार आएर ज्यान गुमाएका २० नेपाली कामदारका परिवारले ४० लाख १३ हजार रियाल (करिब १० करोड ८३ लाख ६६ हजार रुपैयाँ) क्षतिपूर्ति पाएका छन् । सडक र कार्यालयस्थलमा ज्यान गुमाएकाको क्षतिपूर्ति दिलाउन नेपाली दूतावासले कानुन व्यवसायी राखेर मुद्दा लडेको थियो । दूतावासले कानुनी खर्च कटाएर परिवारले पाउने गरी परराष्ट्र मन्त्रालयमार्फत रकम पठाइसकेको जनाएको छ । ‘२० मृतकका परिवारलाई ४० लाख १३ हजार रियाल क्षतिपूर्ति प्राप्त भएको छ,’ नेपाली दूतावासका सहचारी केशव पन्थीले कान्तिपुरसँग भने, ‘तर ६ लाख ८३ हजार कानुनी खर्च भएको छ, त्यो कटाएर बाँकी ३३ लाख ३० हजार रियाल पठाइएको छ ।’ परराष्ट्रले क्षतिपूर्ति सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत भुक्तानी दिनेछ । क्षतिपूर्ति पाउनेमा रिभन ३ कास्कीका जोगबहादुर सुनुवार (एक लाख ६० हजार रियाल), धरमपानियाँ ६ कपिलवस्तुका गौतम न्यु (एक लाख ४९ हजार रियाल), पोखरा ३ कास्कीका जीवनकुमार श्रेष्ठ (एक लाख ४९ हजार रियाल), किनहुन २ तनहुँका केशबहादुर राना (३४ हजार), चित्रे ४ खोटाङका पेमनुरी शेर्पा (एक लाख ५५ हजार रियाल), शिक्तहन ३ रूपन्द्रेहीका वाइज मोहम्मद स्वात (एक लाख ५५ हजार रियाल), उम्रप्रेमपुर ४ धनुषाका सञ्जीवदास तटमा (दुई लाख ७ हजार रियाल), राजबरा ९, प्यूठानका गिरबहादुर घर्ती (एक लाख ६० हजार रियाल) र खँडेबास ५, बागलुङका नामराज गुरुङ (एक लाख ५९ हजार रियाल) छन् । त्यस्तै, आमभन्ज्याङ ७, मकवानपुरका नन्दप्रसाद सापकोटा (एक लाख ५९ हजार रियाल), सिद्धधारा ३, अर्घाखाँचीका अर्जुनबहादुर सुनार (एक लाख ५९ हजार रियाल), चिसापानी ७, स्याङ्जाका सोमप्रसाद भण्डारी (एक लाख ६० हजार रियाल), सिंगाहदेवी ७, मोरङका सञ्चबहादुर लिम्बू, तुलिसिया निकेश ३, धनुषाका सत्यनारायण यादव (एक लाख ४९ हजार), अधिकारीचौर ६, बागलुङका तुलसीराम भण्डारी (दुई लाख ३९ हजार रियाल), फलेक ७, तेह्रथुमका दुर्गाबहादुर दर्जी (दुई लाख ४४ हजार रियाल), बलाह संग्राह ५, धनुषाका अन्सुरुल कुवारी (एक लाख ९६ हजार), छतिवन ३, मकवानपुरका प्रेमबहादुर भोम्जन (एक लाख ९६ हजार रियाल), चुरियामाई २, मकवानपुरका अशोक थिङ (एक लाख ५९ हजार रियाल) र टरुर्का ५ नुवाकोटका कृष्णे कामी (एक लाख ५९ हजार रियाल) रहेका छन् । यीमध्ये स्याङ्जाका भण्डारी र प्यूठानका घर्तीले दोस्रो पटक क्षतिपूर्ति पाएका हुन् । उनीहरू अधिकांश सडक दुर्घटनामा परी ज्यान गएका हुन् । कतारमा सडक र कार्यस्थलमा ज्यान गुमाउनेले क्षतिपूर्ति पाउन मुद्दा लड्नुपर्ने अवस्था छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024