नवराज ढकाल
सरकारले वैध तरिकाले खाडी मुलुकमा घरेलु कामदार पठाउन ढिलाइ गर्दा गैरकानुनीरूपमा पठाउने गिरोह सक्रिय भएको छ।
दलालले भारतीय मार्ग हुँदै मोटो रकम लिएर कुवेत, साउदी अरब, कतार, ओमनलगायतका मुलुकमा महिला कामदार पठाइरहेका छन्। सरकारले भने खाडीमा महिला घरेलु कामदार पठाउँदा असुरक्षा भएको भन्दै विगत पाँच वर्षदेखि रोकेको छ। वैध हिसाबले जान नपाउँदा अवैध तरिकाबाट जान चाहनेको संख्या बढेको हो।
दलालमार्फत कुवेत, साउदीलगायतका मुलुकमा लगिएका महिला कामदार बिच्चली परेपछि सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासले अवैध पठाउने गिरोहलाई नियन्त्रण नेपाल सरकारलाई पत्राचार गरेको छ।
कुवेतस्थित् नेपाली दूतावासले केही समयअघि कुवेतबाट निकालिएका कामदारको भिसामा भारत हुँदै पुनः नेपाली महिला कामदार ल्याउने गिरोह सक्रिय भएको भन्दै सचेत हुन श्रम तथा रोजगार मन्त्रालयलाई जानकारी गरायो। नेपालबाट गएका कामदार तथा पठाउने दलालको समेत नाम, ठेगाना नै उल्लेख गरेर कुवेतस्थित् दूतावासले नेपाल सरकारलाई अवगत गराएको थियो।
कुवेतको दूतावासले दिएको जानकारी अनुसार झापाकी सरिता दर्जी, सिन्धुपाल्चोककी सानु तामाङ, कपिलवस्तुकी अमिसरा खातुन, सुर्खेतकी अमृता तिवारी, गोरखाकी सविता खत्री तथा सिन्धुलीकी शान्ति बि.क.लाई दलालले मोटो रकम असुलेर अवैध तरिकाले कुबेत पुर्यागएका थिए।
उनीहरू त्यहाँ पुगेर बिचल्लीमा परेपछि केहीले कुवेत सरकारले स्थापना गरेको लजिङ सेन्टरमा राखेको थियो भने कतिपयलाई दूतावासले नेपाल फिर्ता पठाएको थियो। दैनिक दर्जनभन्दा बढी महिलालाई दलाले भारतीय मार्ग तथा कतिपय अवस्थामा सेटिङमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबै घरेलु कामदारका रूपमा कुवेत, साउदी, कतारलगायत मुलुकमा पठाउने गरेको दूतावासको ठम्याईं छ।
श्रम तथा रोजगार मन्त्रालयले संस्थागतरूपमा घरेलु कामदार पठाउन अनुमतिका लागि कार्यविधि बनाए पनि अहिलेसम्म पठाउन सुरू गरिएको छैन।
यस्तै समस्या, साउदी अरब, कतार, ओमनलगायतका देशमा पनि देखिएका छन्। सुरूमा कुवेतमा पठाएर त्यहाँबाट साउदी अरब पठाउने गिरोह सक्रिय भएको म्यानपावर व्यवसायीको भनाई छ । कुवेतस्थित् नेपाली दूतावासको अध्ययनले पनि यसलाई पुष्टि गरेको छ।
दूतावासले श्रम तथा रोजगार मन्त्रालयलाई दिएको जानकारी अनुसार कुवेत पुगेकी झापाकी चन्द्रकुमारी राई एकाएक बेपत्ता भइन्। उनी बेपत्ता भएपछि दूतावासले खोजी प्रक्रिया अघि बढायो। कुवेत प्रहरीको रेकर्ड अनुसार उनीहरू कुवेतबाट आउट भएका छन्।
नेपाल गएका छैनन्। दूतावासको अनुमानमा गिरोहले उनलाई साउदी अरब पुर्याजएको अनुमान छ। ६ महिनाभन्दा बढी बाहिर बसेमा आवासीय भिसा स्वतः रद्द हुने कुवेतको कानुन भएकाले यस्ता कामदारलाई त्यहाँबाट उद्धार गर्नसमेत मिल्दैन।
साउदी पुगेको आशंकामा त्यहीँबाट उद्धार गर्न दूतावासले नेपालको परराष्ट्र मन्त्रालयलाई जानकारी गरायो। यी त गिरोहबाट महिला कामदार पठाएर बिचल्ली पारिएका प्रतिनिधि घटनामात्र हुन्।
दैनिक एक दर्जनभन्दा बढी महिलाई भारत हुँदै साउदी र कुवेतमा पठाउने गिरोह सक्रिय भए पनि सरकारले सेटिङमा पठाउने गिरोह पत्ता लगाएर कारवाही गर्न सकेको छैन।
म्यानपावर व्यवसायी पनि अवैध तरिकाले घरेलु महिला कामदार पठाउने गिरोह सक्रिय भएको बताउँछन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वउपाध्यक्ष टंकबहादुर राउत सरकारले रोके पनि अवैध तरिकाबाट दिनहुँ दजर्नौ जना घरेलु कामदारका रूपमा खाडी मुलुक गइरहेको बताउँछन्।
सरकारले घरेलु कामदारसम्बन्धी कार्यविधि बनाए पनि त्यसमा आमव्यवसायीको सहमति नभएको उनको भनाई छ। ‘सबै व्यवसायीलाई सहभागी गराइएको छैन। दोहोर्याीएर धरौटी मागिएको छ। यसबाट समस्या समाधान हुने देखिँदैन्’, उनले भने।
श्रम तथा रोजगार मन्त्रालयले संस्थागतरूपमा घरेलु कामदार पठाउन दिन कार्यविधि तय गरेको छ। कार्यविधि बनाए पनि अहिलेसम्म पठाउने कार्य सुरू भएको छैन । पठाउने म्यानपावर कम्पनी र तालिम दिने संस्था छनोट भइसकेको छ।
तालिम लिने काम सुरू भइरहेकाले अब छिट्टै पठाउने तयारी भएको श्रम मन्त्रालयको भनाइ छ। सरकारले घरेलु कामदार पठाउन ३५ वटा म्यानपावर कम्पनी छनोट गरेको छ । यसैगरी, १७ वटा संस्थालाई तालिमका लागि छानेको छ।
घरेलु कामदार पठाउने म्यानपावर कम्पनीले २५ लाख रुपैयाँ धरौटी राख्नुपर्ने प्रावधान छ । जाने महिला कामदारले ३० दिन अनिवार्य तालिम लिनुपर्ने, पठाउने कम्पनीले निःशुल्क राहदानी बनाइदिनुपर्ने लगायतका व्यवस्था राखिएका छन् । कामदार लिने घर मालिकले सम्बद्ध मुलुकको नेपाली दूतावासमा निश्चित रकम धरौटी राख्नुपर्ने नयाँ नियम बनाइएको छ।
वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान महासचिव कमल तामाङले वैध तरिकाबाट घरेलु कामदार पठाउन ढिलाइ हुँदा गैरकानुनी तवरले पठाउने गिरोह सक्रिय देखिएको बताए।
उनले भने, ‘प्रतिव्यक्ति औसतमा दुई लाख रुपैयाँसम्म असुलेर दलाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै खाडी मुलुकमा महिला घरेलु कामदार पठाउने काम भइरहेको छ।’वैध तरिकाले पठाउन थालेपछि अवैध पठाउने गिरोह केही निरुत्साही हुन सक्ने उनको भनाइ छ।