हातमा लेबनान, डायरीभित्र इराक

11 January, 2015

त्रिभुवन विमानस्थलको अध्यागमन (इमिग्रेसन) मा कागजपत्र देखाएर शनिबार दिउँसो १ बजे पाँच महिला एयर अरेबियाको उडानबाट दुबई हुँदै लेबनान जान लागेका थिए । घरेलु कामदारका रूपमा जान लागेका उनीहरूको हातमा एउटै खालको कालो डायरी थियो । डायरीभित्र पासपोर्ट र टिकट थियो ।

बोर्डिङ पास गरेर इमिग्रेसन जाँचपछिको अन्तिम सुरक्षा ढोकामा पुग्दा सुरक्षाकर्मीले जाँच गरे । उनीहरूको डायरी अस्वाभाविक मोटो थियो । भित्र राखिएको पासपोर्ट, बोर्डिङ पास र टिकट निकालेर एक महिला सुरक्षाकर्मीले जाँच गरिन् । अझै डायरीको मोटाइ उस्तै थियो । डायरीको एउटा चेप त ब्लेडले काटिएको थियो । काटिएको स्थानमा ती महिला प्रहरीले हात हालेर हेर्दा त भित्र अर्कै कागज पट्याएर राखिएको भेटियो । बाहिर निकाल्दा थाहा भयो । ती पाँच महिला लेबनान होइन, इराक जाँदै थिए । डायरीको भित्रपट्टि दुबईबाट इराकको कुर्दिस्तान जाने पि्रन्टेट ई-टिकट र भिसा थियो । अरबी भाषामा लेखिएको कागजमा ती महिलाहरूको नाम मात्र प्रस्ट थियो । खासमा उनीहरू गौशालामा रहेको मेनपावर कम्पनीलाई ५० हजार रुपैयाँ तिरेर इराक जाँदै थिए । इमिग्रेसन र प्रहरीलाई झुक्याउनमात्र उनीहरूलाई मेनपावर कम्पनीले लेबनान जाने कागजपत्र बनाएको प्रहरीले फेला पार्‍यो । सरकारले इराकमा कामदार जान प्रतिबन्ध लगाएका कारण उनीहरू लेबनान जाने प्रक्रिया पूरा गरेर दुबईबाट इराक उड्न लागेका हुन् । सिन्धुपाल्चोककी २६ वर्षीया गंगा नगरकोटी, ४० वर्षीया निमा लामा, २२ वर्षीया आइती तामाङ, २८ वर्षीया मनमाया तामाङ र चितवन जुटापानीकी कुमारी लामा हुन् । आइती र मनमाया दिदीबहिनी हुन् । यिनीहरूलाई गौशालामा रहेको अर्थ भिजन मेनपावरले पठाएको हो । लेबनानमा ‘हाउसमेड’ का लागि श्रम स्वीकृतिको स्टिकरलगायत सबै कानुनी प्रक्रिया पूरा गरिएको छ । विमानस्थल सुरक्षा गार्डका नायब उपरीक्षक विनोद घिमिरेका अनुसार यही मेनपावर कम्पनीले श्रम स्वीकृतिका लागि २ सय ५० महिलाको निवेदन दिएको छ । ‘लेबनान नै जाने भनेर दिइएको पाइएको छ,’ घिमिरेले भने, ‘यस्तो चालले त यी सबैलाई इराक नै पठाउन लागिएको हो ।’ यी महिलाबाट मेनपावर कम्पनीले टिकट मात्र किन्ने पैसा लिएको छ ।

प्रतिबन्धित मुलुक इराकमा एक महिला पठाएबापत मेनपावर कम्पनीले कम्तीमा डेढ लाख रुपैयाँ पाउँछ । ‘हामीलाई पठाउनेले जे गर भनेको थियो, त्यही गरेको हो,’ गंगा नगरकोटीले भनिन्, ‘दुबई पुगेपछि मात्र अर्को कागजपत्र झिक्न भनेको थियो ।’ मेनपावरले मासिक ३० हजार नेपाली रुपैयाँ कमाइ हुने आस देखाएर उनीहरूलाई त्यहाँ पठाएको हो । इराक पुगेपछि विमानस्थलमा उनीहरूलाई लिन कम्पनीको व्यक्ति आउने बताइएको थियो । विमानस्थल प्रहरीले इराक उड्नबाट रोकिएका ती पाँच महिलालाई शनिबार गौशाला वृत्तमा राखी आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंमा पेस गरिने र झुक्याएर प्रतिबन्धित मुलुकमा कामदार पठाउन खोज्ने मेनपावरलाई कारबाहीका लागि प्रक्रिया अघि बढाइने जानकारी दिएको छ । तर, यस्ता प्रकरणमा मेनपावरलाई कारबाही गर्ने प्रहरीलाई महिलाकै असहयोग हुने गरेको छ । विमानस्थलका सुरक्षा प्रमुख डीआईजी विजयलाल कायस्थले भित्र-बाहिर लुकाएर दुइटा टिकट राखेर पठाउनु सरासर मानव तस्करी भएको बताए ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024