कञ्चनपुर, मानव बेचबिखनका हिसाबले कञ्चनपुर उच्च जोखिममा रहेको पाइएको छ । माइती नेपाल कञ्चनपुरले शनिबार सार्वजनिक गरेको वाषिर्क तथ्यांकअनुसार सुदूरपश्चिमका नौ वटै जिल्लामध्ये कञ्चनपुर महिला तथा बालबालिकाको बेचबिखनमा उच्च जोखिममा रहेको पाइएको हो ।
‘हामीले सीमा क्षेत्रमा रोकथाम गरेका सम्भावित उच्च जोखिममा परेका महिला तथा बालबालिकामध्ये सबैभन्दा बढी कञ्चनपुरकै छन्,’ वाषिर्क प्रतिवेदन सार्वजनिक गर्दै माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले भनिन्, ‘पछिल्लो एक वर्षमा उच्च जोखिममा परेका ८२ जनालाई सीमा क्षेत्रमा रोकथाम गरेका छौं ।’ उनका अनुसार रोकथाम गरिएका मध्ये कञ्चनपुरका १८ र कैलालीका १४ जना महिला तथा बालबालिका थिए । ‘पहाडी जिल्ला डोटी पनि निकै जोखिममा देखिएको छ,’ उनले भनिन्, ‘यस वर्ष सीमा क्षेत्रबाट रोकथाम गरिएकामध्ये ५ जना डोटीका छन् ।’
माइती नेपालले उच्च जोखिममा परेका ३१ जिल्लाका ८२ जनालाई कञ्चनपुरका पश्चिमी सिमानाका गड्डाचौकीबाट दालालहरूले भारततिर लैजाँदै गरेको अवस्थामा रोकथाम गरेको हो । रोकथाम गरिएका सबैलाई परिवारको जिम्मा लगाइसकेको माइती नेपालले जनाएको छ । माइती नेपालले यस वर्ष बेचबिखनमा परेका ६ जनाको उद्धार गरेको छ । ‘२ जनामाथि मानव बेचबिखनको मुद्दा दर्ता गरिएको छ,’ संयोजक भट्टले भिनन्, ‘कतिपय त भारतमै पुगेर पनि उद्धार गरेका छौं ।’ उनका अनुसार माइती नेपालले कञ्चनपुरमा काम सुरु गरेयता १२ वर्षमा ८५ महिला तथा बालबालिकाको उद्धार गरेको छ । विगतमा मानव बेचबिखनमा प्रयोग हुने तरिकाहरू पनि फेरिँदै गएको माइती नेपालको अध्ययनले देखाएको छ । ‘२/३ वर्ष अघिसम्म महिला तथा बालबालिकाहरूलाई भारतमा रहेका आफन्तसँग भेट गराइदिने भन्दै सीमा कटाएर लैजाने गरेको भेटिन्थ्यो,’ संयोजक भट्टले भनिन्, ‘तर अहिले रोजागरीको प्रलोभन दिएर लैजाने तरिका अपनाएका छन् ।’ उनले पीडित आफैं विभिन्न प्रलोभनमा परेर आउने हुँदा पहिले पहिचान गर्नै समस्या र पहिचान गरेपछि पनि रोकथाम गर्न समस्या हुने गरेको बताइन् । खुला सिमानाका, पीडित आफैं प्रलोभनमा पर्नेलगायतका समस्याले गर्दा उद्धार तथा रोकथाममा समस्या भइरहेको संयोजक भट्टले बताइन् । माइती नेपालको तथ्यांकअनुसार कञ्चनपुरमा बेपात्ता हुनेको संख्या पनि बर्सेनि बढ्दै गइरहेको छ । पछिल्लो एक वर्षमा मात्रै विभिन्न क्षेत्रका गरी २ सय २६ महिला र बालबालिका बेपत्ता भएर खोजबिनका लागि उजुरी परेका छन् । ‘विगत १२ वर्षमा १ हजार ३ सय ५७ जनाको खोजतलासका निवेदन परेका छन्,’ संयोजक भट्टले भनिन्, ‘तर हालसम्म १ सय ७१ जना मात्रै भेटिएका छन् ।’