मलेसियाले नेपालबाट सुरक्षा गार्डमा काम गर्न जानेले नक्कली प्रमाणपत्र बनाउन थालेको भन्दै कामदार लिने प्रक्रिया परिवर्तन गर्ने तयारी गरेको छ। मलेसियाले सुरक्षा गार्डमा नेपाल प्रहरी र नेपाली सेनाबाट निवृत्त भएकालाई मात्र लिने गरेको छ तर यस्तो अनुभव नभएकाले पनि नक्कली अनुभवको प्रमाणपत्र बनाएर जानेक्रम बढेको दाबी मलेसियाले गरेको छ।
नक्कली अनुभवको प्रमाणपत्र बनाएर जाने प्रवृत्ति न्यूनीकरण गर्न मलेसिया आफैंले तालिम सञ्चालन गर्ने योजना बनाएको छ। आफ्नै प्रत्यक्ष निगरानीमा तालिम सञ्चालन गर्ने उसले बताएको हो । तालिमका लागि नेपालका कम्पनी छनोट गर्ने र तालिम चलाउने तयारी मलेसियाले गरिरहेको वैदेशिक रोजगार व्यवसायीले जानकारी दिएका छन् । निश्चित मापदण्ड निर्धारण गरी प्रत्यक्ष निगरानीमा तालिम सञ्चालन गरेपछि अनुभवको नक्कली प्रमाणपत्र बनाएर जाने प्रवृत्ति रोकिने यो रोजगारदाता मुलुकको ठम्याइ छ। अहिलेको योजनाअनुसार नयाँ व्यवस्था कार्यान्वयन भएमा तालिम लिएका जोसुकै व्यक्ति मलेसियामा सुरक्षा गार्डमा काम गर्न जान पाउनेछन्।
नक्कली अनुभवको प्रमाणपत्र बनाएर जाने प्रवृत्ति न्यूनीकरण गर्न मलेसिया आफैंले तालिम सञ्चालन गर्ने योजना बनाएको हो।
आफ्नै प्रत्यक्ष निगरानीमा तालिम दिइने भएकाले तालिम लिने सर्वसाधारणलाई पनि काममा लिने योजना रोजगारदाताले बनाएका हुन्। व्यवसायीका अनुसार सुरक्षा गार्डमा धेरै माग हुने गरेको छ तर नेपालले मागअनुसार कामदार पठाउन सकेको छैन। नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वउपाध्यक्ष मदन महतले नक्कली अनुभवको प्रमाणपत्र बनाएर जानेक्रम बढेको भन्दै मलेसियाले नयाँ नियम बनाउन लागेको हुन सक्ने बताए।
तालिम दिएपछि निवृत्त सेना, प्रहरीबाहेक अरूलाई पनि जान दिने व्यवस्था गरिनु उपयुक्त हुने उनले बताए। ‘सुरक्षा गार्डमा काम गर्न जानेलाई व्यवस्थित गर्न आवश्यक छ। अहिले मागअनुसार कामदार पठाउन सकिएको छैन,’ उनले भने। मलेसियामा सेक्युरिटी गार्डमा काम गर्न जान चाहने युवाको संख्या बढ्दो छ। अन्य क्षेत्रको तुलनामा सेक्युरिटी गार्डमा कमाइ निकै बढी हुन्छ। व्यवसायीका अनुसार अहिले औसतमा यो क्षेत्रमा ४० हजारदेखि ५० हजार रुपैयाँसम्म कमाइ हुन्छ। कम्पनीभित्र काम गर्ने भएकाले तुलनात्मक रूपमा काम पनि सजिलो हुन्छ।
श्रम तथा रोजगार मन्त्रालयले भने मलेसियाले बनाउन लागेको नयाँ नियमका बारेमा औपचारिक रूपमा जानकारी नभएको बताएको छ। मन्त्रालयका सचिव भोलाप्रसाद सिवाकोटीले सुरक्षा गार्ड लिने व्यवस्थामा परिमार्जन गर्न लागिएका बारेमा मलेसियाले अहिलेसम्म औपचारिक जानकारी नदिएको बताए। ‘यसबारेमा केही पनि औपचारिक जानकारी आएको छैन,’ उनले भने। मलेसिया नेपाली कामदारको आकर्षक रोजगारीको गन्तव्य हो। हाल सात लाख नेपालीले यो मुलुकमा काम गरिरहेको अनुमान छ।
खाडी मुलुकको तुलनामा काम गर्न सजिलो हुने भएकाले मलेसिया जाने कामदारको संख्या बढ्दो छ। मलेसियामा बहुराष्ट्रिय कम्पनी खुल्नेक्रम बढ्दो छ। लगानीमैत्री वातावरण भएकाले बहुराष्ट्रिय कम्पनी खुलेका हुन्। ती कम्पनीमा काम गर्न मलेसियाले विदेशी कामदार लिनेक्रम बढाएको हो। उत्पादनमूलक कम्पनीसहित, होटेल, पर्यटनलगायतका क्षेत्रमा कामदारको माग धेरै छ। मलेसियाले सन् २०१८ भित्र आफूलाई विकसित मुलुकमा स्तरोन्नति गर्न लागेकाले पूर्वाधार विस्तारलगायतका काम पनि तीव्र गतिमा भइरहेको छ। पूर्वाधारका क्षेत्रमा पनि कामदारको माग बढिरहेको व्यवसायीले बताएका छन्।