बैंककमा विद्यार्थी अपहरणको फिरौती बुझ्ने माओवादी नेता पक्राउ

25 December, 2014

थाइल्यान्डको बैंककस्थित एजुम्पसन विश्वविद्यालयमा अध्ययनरत अपहृत तीनजना नेपाली विद्यार्थीको उद्धारपछि प्रहरीले नेपालमा फिरौती बुझ्ने थप एक नेपाली पक्राउ गरेको छ। पक्राउ पर्नेमा मातृका यादव नेतृत्वको नेकपा (माओवादी) का केन्द्रीय सदस्य एवं उपत्यका इन्चार्ज सुजन यादव भनिने श्रीचन राय छन्। 

घटनाबारे जानकारी दिन बुधबार नेापल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पत्रकार सम्मेलन गरी बैंककका अपहरणकारीसँग प्रत्यक्ष फोनसम्पर्कमा रहेका र फिरौती बुझ्ने सर्लाहीका रायको संलग्नता रहेको जानकारी गरायो।  सीआईबी र बैंकक प्रहरीको संयुक्त टोलीले तीन नेपाली विद्यार्थीलाई अपहरणमा परेको पाँच दिनपछि मंगलबार मुक्त गरेको थियो। अपहरणमा संलग्नमध्येका पाकिस्तानी मूलका थाई नागरिक उकास रहमान र पाकिस्तानी नागरिक मोहम्मद जलिरको बयान र फोन सम्पर्कबारे अनुसन्धान गर्दा रायलाई पक्राउ गर्न सजिलो भएको थियो। प्रहरीले रायलाई खड्का भद्रकालीबाट बुधबार बिहान नियन्त्रणमा लिएको जानकारी सीआईबी प्रमुख डीआईजी हेमन्त मल्ल ठकुरीले दिए। 

एजुम्पसनमा पढ्दै गरेका नेपाली विद्यार्थी रोनेश श्रेष्ठ, कर्ण हाछेथू र विभूष रिजाल अपहरणमा परेका थिए। ठकुरीका अनुसार अपहरणकारीले एकजनालाई आफन्तसँग फोनसम्पर्क गराएर अपहरणमा परेको जानकारी गराएका थिए। अपहरणमुक्त गर्न अपहरणकारीले जनही एक करोड रुपैयाँ फिरौती मागेपछि घटना प्रहरीसमक्ष पुगेको थियो। अपहरणकारीले आइतबार पनि पटकपटक अभिभावकलाई फोन गरेर फिरौती मागेको जानकारी ठकुरीले दिए। सीआईबीले आइतबार बैंकक प्रहरीसँग समन्वय गरी एसपी पीताम्बर अधिकारीलाई पठाउने निर्णय गरेको थियो। 

पुस ८ गते नेपाल प्रहरी र बैंकक प्रहरीको संयुक्त टोलीले अनुसन्धान गर्दा अपहृत विद्यार्थीलाई लुकाएर राखिएको बैंककस्थित कोलोङसङ टननोन जिल्लास्थित ल्याड कर्बाङ स्थित घर पत्ता लगाई सर्च गरेको थियो। घर सर्च गर्दा विद्यार्थीलाई कुरेर बसेका पाकिस्तानी मूलका थाई नागरिक रहमान र पाकिस्तानी नागरिक जलिर पक्राउ गर्न प्रहरी सफल भएको थियो। ठकुरीले भने, ‘यी दुवै विद्यार्थीलाई लुकाएको घरमा कुरेर बसेका थिए, प्रहरी आउने सूचना पाएपछि अन्य भने फरार भएको पाइयो।’ ठकुरीका अनुसार अपहरणकारी र रायबीच पटकपटक फोनसम्पर्क भएको देखिन्छ। 

अपहृत विद्यार्थीका आफन्तबाट फिरौती बुझेपछि हुन्डीमार्फत पैसा बैंकक पठाउने सहमति भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। ठकुरीका अनुसार पक्राउ परेका अपहरणकारीमध्ये जलिर २० दिनअगाडि अवैध रूपमा मलेसियाबाट बैंकक छिरेका थिए। अपहरणमा संलग्न अन्य सातजना विभिन्न मुलुकका रहेको ठकुरीले बताए। अपहृत विद्यार्थी बस्ने अपार्टमेन्टनजिकै अली भनिने उनीहरूकै साथीले खोलेको रेस्टुरेन्टमा पार्टी दिने बहानामा अलीले नै अपहरण गरेको अनुसन्धानबाट खुलेको छ। 

‘सुरुमा साथी भन्दै खुवाईपिलाई गर्‍यो, पछि मौकाको फाइदा उठाएर अपहरण गरी फिरौती माग्यो’, डीआईजी ठकुरीले भने। प्रहरीले अपहरणमा बैंककमै रहेका अन्य नेपालीको पनि संलग्नताबारे अनुसन्धान गरिरहेको छ। 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024