लामो समयदेखि विवादमा आएर बन्द समेत रहेको एनबी इन्स्योरेन्सको सेयर आइएमइ समूहले खरीद गरेको छ। अहिलेसम्म समूहले इन्स्योरेन्सको ४५ प्रतिशत सेयर खरीद गरिसकेको छ। ‘हाम्रो समूहले इन्स्योरेन्सको लगभग आधा सेयर खरिद गरिसकेको छ,’ आइएमइ समूहका अध्यक्ष चन्द्र ढकालले मंगलबार नागरिकसँग भने ‘ विशेष साधारणसभा डाकेर चाँडै कम्पनी फेरी सञ्चालनमा ल्याइनेछ।’
इन्स्योरेन्सको कुल सेयर कित्ता १४ लाख २० हजार हो। यसमध्ये सर्वसाधारण लगानीकर्ताको नाममा रहेको २० प्रतिशत सेयरबाहेक आइएमइले अन्य संस्थागत रुपमा रहेको केही सेयर खरीद गरेको हो। संस्थागत सेयर मध्ये समूहले एनबी बैंकको नाममा रहेको ३५ प्रतिशत र एनसिसी बैंकको स्वामित्वमा रहेको १० प्रतिशत सेयर खरीद गरेको उनले बताए। यो सेयर खरिद बिक्रि पछि पनि एनबी बैंकसँग १० प्रतिशत सेयर रहने छ। अर्को ५ प्रतिशत सेयर आइएमइ समूहको आफ्नै भगिनी कम्पनी हाथवे इन्भेष्टमेन्टले खरिद गरेको हो। हाथवे इन्भेष्टमेन्टका प्रबन्ध निर्देशक अम्बिकाप्रसाद पौडेलले पनि एनबी इन्स्योरेन्सको सेयर खरीद गरेको नागरिकलाई बताए। अंकित मूल्य एक सय रुपैयाँ भएको यसको सेयर समूहले प्रति कित्ता ८१ रुपैयाँ ५० पैसाका दरले किनेको हो। यस्तै हाथवेले ८६ रुपैयाँका दरले खरिद गरेको हो। यो सेयर खरिद विक्रि पछि एनवी इन्स्योरेन्समा आइएमइ समूहबाहेक सर्वसाधारणको २०, एनबी बैंकको १० , हाथवेको ५ प्रतिशत र बाँकी अन्यको हुनेछ। सेयर नामसारी भए पछि कम्पनीको विशेष साधारणसभा बोलाएर कम्पनीलाई कसरी संचालन गर्ने भन्नेबारेमा निणर्य गरिने छ। यो इन्स्योरेन्समा अनियमितताको विवाद भएपछि बिमा समितिको कारबाहीले कम्पनी बन्द भएको थियो।