मलेसियाले साढे ३ लाख कामदारको भिसा थप्ने

20 December, 2014

मलेसियाले भिसा सकिन लागेका ३ लाख ५२ हजार ४ सय ९३ विदेशी कामदारको भिसा एक बर्षका लागि थप गर्ने घोषणा गरेको छ । त्यहांको सरकारले गैरकानुनी हैसियतमा रहेका उनीहरुलाई यसअघि सन् २०११ मा ‘आममाफी कार्यक्रम’ अन्तर्गत बैध गराई रोजगारी दिइएयता समयावधि सकिन डेढसाता मात्रै बांकी छँदा यस्तो निर्णय गरेको हो ।

उनीहरु सबैको यही बर्ष अन्त्यमा भिसा सकिंदै थियो । उसले कामदारको चर्को अभावका कारण मुलुकको अर्थतन्त्रमा असर पर्ने भएकाले ती कामदार फर्काइनुअघि नै भिसा नवीकरण गरेर रोजगारी यथावत दिने निर्णय गरेको स्थानीय संचारमाध्यमले जनाएका छन् । जानकारहरुका अनुसार अर्थतन्त्र विकासका लागि मलेसियालाई अझै २७ लाख कामदारहरुको आवश्यकता पर्दछ  । कामदारहरुको चर्को अभाव झेलिरहेको मलेसियाले अर्थतन्त्रमा गिरावट आउन नदिन उक्त निर्णय गरेको गृह मन्त्रालयका एकजना अधिकारीलाई उध्दृत गर्दै प्रमुख अंग्रेजी दैनिक न्युस्टन टाइम्स लगायत अन्य स्थानिय समाचार माध्यमले उल्लेख गरेका छन् ।

‘सरकारले ठूलो संख्यामा भइरहेको कामदार अभावले मुलुकको व्यवसाय र अर्थतन्त्रमा असर पर्नसक्ने महसुस गरेको छ ।’ बिहीबार विदेशी कामदार सम्बन्धी समितीको वैठकमा सहभागी गृहमन्त्रालयका कार्यकारी महासचीव अल्वी इब्राहिमले भनेका छन्, ‘त्यसैले मन्त्री परिषद्ले अर्को एक बर्ष उनीहरुको भिसा थप्ने निर्णय गरेको छ । अब रोजगारदातालाई पनि नयां कामदार ल्याउन र पूरानालाई फर्काउने प्रशस्त समय मिलेको छ ।’ बिहीबार मलेसियाली गृहमन्त्री अहमद हमिद जाहिदी र इण्डोनेसियाली जनशक्ति मन्त्री मुहम्मद हनिफ धाकिरीबीच छलफल भएको जनाइएको छ । इण्डोनेसिया मलेसियालाई सबैभन्दा धेरै कामदार दिने मुलुक हो ।

नेपालीको लागि वैदेशिक रोजगारीको प्रमुख गन्तव्य रहेको मलेसियाले ‘सिक्स-पी’ नाम दिइ विभिन्न ६ चरणमा सम्पन्न गरिएको उक्त कार्यक्रममार्फत दुइबर्षअघि करिब १४ हजार नेपालीले ‘अस्थायी अनुमति’ सहित २ बर्ष काम गर्ने अवसर पाएका थिए । उनीहरुलाई यही बर्ष अन्त्यमा फर्काईंदै थियो । नयाँ निर्णयसंगै अब उनीहरुले आगामी बर्ष २०१५ को अन्त्यसम्म काम गर्न पाउनेछन् ।

मलेसियास्थित नेपाली दुतावासका अनुसार गैरकानूनी कामदारलाई बैध बनाई काम गर्न दिइएको उक्त कार्यक्रमा करिब ३३ हजार नेपाली दर्ता भएका थिए । तीमध्ये करिब १४ हजार नेपालीले बैधताका लागि दरखास्त दिए । ‘यो निर्णयबाट हजारौं नेपाली लाभान्वित हुनेछन् । किनकी थप एकबर्ष काम गर्न पनि पाउने र बैधानिकता पनि कायमै हुने भयो ।’ दुतावास स्रोतले टेलिफोन सम्पर्कमा भन्यो ‘करिब १४ हजार जना नेपाली यो कार्यक्रममा सामेल भएका थिए, तीमध्ये धेरैजसो थप एकबर्ष कमाइ गरेर र्फकन पाउने भएका छन् ।’ यो निर्णय गैरकानुनी हैसियतबाट बैध बनेपछि रोजगाररत नेपालीका लागि यथासक्य छिटो लागू हुने जनाइएको छ ।

सन २०११ मा ल्याएको आममाफी कार्यक्रममार्फत करिब १० हजार गैरकानुनी हैसियतका नेपालीलाई बैधता प्रदान गरि सुरक्षागार्डमा रोजगारी दिएको थियो । ‘सिक्स पी’ आममाफीपछि गैरकानुनी कामदारलाई बैधता दिलाउने सुनौलो कार्यक्रम थियो । मलेसियाली अधिकारीहरुले रोजगारदाताहरुलाई आफुसंग यसअघि सिक्सपिमार्फत दर्ता भएका कामदारहरुको भिसा नवीकरण समयमै गर्न र नयां कामदार भर्नापनि समयमै गर्न भनेका भनेका छन् ।

मलेसियाली रोजगारदाताहरुको संस्था ‘मलेसिया इम्प्लोयर्स फेडेरेसनले गत सोमबार २ बर्षका लागि  अस्थायी अनुमति पाएका कामदारहरुको भिसा नवीकरण गरिदिन सरकारलाई अपील गरेको थियो । ती कामदारहरुलाई यसैबर्ष स्वदेश फर्काइएको भए उनीहरुको ठाउंमा रोजगारदाताहरुले नयां कामदार भर्ना गर्न २ दशमलब ५ बिलियन रिंगिट खर्च हुने भन्दै रोजगारदाताले समस्या बुझिदिन सरकारलाई आग्रह गरेका थिए । गत २०११ मा गैरकानुनी आप्रवासी कामदार घटाउन मलेसियाले उनीहरुको दर्ता, बैधता, आममाफी, सुपरिवेक्षण, कारबाही अभियान र स्वदेश फिर्ती लगायत विभिन्न ६ चरणमा कार्यक्रम सम्पन्न गरिएको थियो ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024