एसएमएसबाट श्रम स्वीकृतिको सूचना लिनेको संख्या ह्वात्तै बढ्यो

19 December, 2014

श्रम स्वीकृतिसम्बन्धी जानकारी मोबाइल एसएमएसबाट लिनेको संख्या ह्वात्तै बढेको छ। वैदेशिक रोजगारीमा जाने तयारी गरिरहेकालाई श्रम स्वीकृतिसम्बन्धी सम्पूर्ण जानकारी एसएमएसबाट दिन थालेसँगै यसमा आकर्षण चुलिएको हो। 

अहिले मासिक एक लाखभन्दा बढी कामदारले श्रम स्वीकृति पाएनपाएको जानकारी मोबाइल एसएमएसबाट लिने गरेका छन्। वैदेशिक रोजगार विभागले गत वर्ष असारमा यो सेवा सुरु गरेको हो। एसएमएस सुविधा पाएपछि श्रम स्वीकृति पाएनपाएको जानकारी लिन बारम्बार वैदेशिक रोजगार विभागसम्म धाउनुपर्ने झन्झटबाट कामदारले मुक्ति पाएका छन्। मोबाइल एसएमएसबाट जानकारी लिने क्रम प्रत्येक महिना बढ्दो क्रममा छ। वैदेशिक रोजगार विभागले उपलब्ध गराएको तथ्यांकअनुसार २०७० असारदेखि २०७१ मंसिरसम्ममा १७ लाख सेवाग्राहीले एसएमएसमार्फत श्रम स्वीकृतिसम्बन्धी जानकारी लिएका छन्।

गएको असारसम्ममा एसएमएस प्रयोग गरी वैदेशिक रोजगारीसम्बन्धी जानकारी लिनेको संख्या १४ लाख थियो।  वैदेशिक रोजगार विभागका प्रवक्ता बद्री कार्कीले एसएमएस सेवा प्रयोग गर्ने सेवाग्राहीको संख्या प्रत्येक महिना बढ्दो क्रममा रहेको जानकारी दिए। एसएमएस सेवा सुरु गरेपछि सेवाग्राहीलाई निकै सजिलो भएको उनले बताए। ‘श्रम स्वीकृति पाएनपाएको जानकारी घरमै बसेर पाउन सक्ने भएकाले एसएमएस प्रयोगकर्ताको संख्या प्रत्येक महिना बढ्दो क्र ममा छ’, उनले भने। 

हाल दैनिक औसतमा १५ सय युवा वैदेशिक रोजगारीमा जाने गरेका छन्। यस आधारमा औसतमा ४५ हजारजना बिदेसिने देखिन्छ। मासिक एसएमएसबाट जानकारी लिनेको संख्या भने निकै बढी रहेको छ। विभागको पछिल्लो तथ्यांकले मासिक एक लाख १५ हजारदेखि एक लाख २० हजारजनाले श्रम स्वीकृतिको विवरण मोबाइल एसएमएसबाट लिने गरेको देखाएको छ। 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024