गैरकानुनीरूपमा वैदेशिक रोजगारीमा गएका नेपाली स्वदेश फर्केर वैधानिक हैसियत प्राप्त गर्ने क्रम बढेको छ। अवैध तरिकाले गएकाहरूले सरकारी संरक्षण नपाउने भएकाले उनीहरू वैध बन्ने प्रक्रियामा सहभागी भएका हुन्। सरकारले पहिला अनुमति नलिई गएका कामदारलाई पनि बिदामा आएर श्रम स्वीकृति लिई जान पाउने छुट दिएपछि वैधानिक प्रक्रियामा आउने क्रम सुरु भएको हो।
गएका दुई आर्थिक वर्षमा मात्रै गैरकानुनी तबरले गएका करिब एक लाख कामदार नेपाल आई श्रम स्वीकृति लिएर पुन: वैदेशिक रोजगारीमा फर्किएका छन्। यो तथ्यांकले दलालको फन्दामा परेर अवैध तरिकाले गएकाहरू आएर सरकारी स्वीकृति लिने क्रम बढेको पुष्टि हुन्छ। सरकारी अनुमति नलिई वैदेशिक रोजगारीमा गएका कामदार अझै २० लाख हाराहारीमा रहेको अनुमान छ। अवैध तरिकाले गएका कामदारको मृत्यु भएमा सरकारले क्षतिपूर्ति दिँदैन। यस्ता कामदार विदेशमा अलपत्र परेमा उद्धार गर्ने व्यवस्था छैन। वैधानिक भएपछि विदेशमा अलपत्र पर्दा सरकारले उद्धार गर्छ भने कामका क्रममा मृत्यु भएमा वा अंगभंग भएमा तीन लाख रुपैयाँसम्म क्षतिपूर्ति पाउने व्यवस्थासमेत छ।
सबैभन्दा धेरै नेपाली कामदार जाने खाडी मुलुक र मलेसियाले पनि धमाधम गैरकानुनी कामदार खोज्न थालेपछि नेपाल आएर श्रम स्वीकृति लिई जाने क्रम थप बढेको सम्बद्ध अधिकारीले जानकारी दिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार गएका दुई आर्थिक वर्षमा गैरकानुनीरूपमा भारतलगायतका मुलुक हुँदै वैदेशिक रोजगारीमा गएका कामदारले बिदामा आएर श्रम स्वीकृति लिने प्रवृत्ति बढेको छ।
आर्थिक वर्ष २०६८/६९ मा जम्मा ३१ जना गैरकानुनी कामदारले बिदामा आएर श्रम स्वीकृति लिएकामा आर्थिक वर्ष २०६९/७० मा यो संख्या ह्वात्तै बढेर ३८ हजार ७६ पुगेको छ। आव २०६९/७० मा गैरकानुनी रूपमा गएका ३४ हजार आठ सय ६७ पुरु ष र तीन हजार दुई सय नौजना महिला कामदारले बिदामा आएर श्रम स्वीकृति लिएका छन्। सरकारको अनुमति लिएर गएपछि उनीहरू वैधानिक ठहरिन्छन्। तथ्यांकले २०६९/७० को तुलनामा २०७०/१७ मा वैधानिक बन्ने क्रम अझै बढेको देखाउँछ। वैदेशिक रोजगार विभागका अनुसार आव २०७०/७१ मा ६० हजार आठ सय ६० जना अवैधानिक कामदारले बिदामा आएर आफूलाई वैध बनाएका थिए। यिनमा पुरु षको संख्या करिब ५५ हजार र महिला ६ हजार चार सय ७२ जना छन्।
कामदारमा बिस्तारै चेतना वृद्धि हुन थालेकाले पनि वैधानिकीकरण गर्ने प्रवृत्ति बढ्दै गएको वैदेशिक रोजगार विभागको ठम्याइँ छ। पछिल्लो समय सबैभन्दा धेरै नेपाली कामदार रहेको मलेसियाले गैरकानुनी विदेशी कामदार नियन्त्रण गर्ने अभियान चलाएको छ। मलेसियाले आफ्नो मुलुकमा ५० हजार नेपालीले गैरकानुनी रूपमा काम गरिरहेको दाबी गरेको छ।
यसैगरी खाडी मुलुकहरूले पनि अवैध कामदारको खोजी अभियान तीव्र पारेका छन्। यसले पनि वैधानिक बाटो रोज्न कामदारलाई बाध्य बनाएको हो। अहिले वैधानिक रूपमै विदेशमा काम गर्ने नेपालीको संख्या ३५ लाख नाघिसकेको छ। सरकारी अनुमति लिएर दैनिक औसतमा १५ सय जना नेपाली कामका लागि बिदेसिने गरेका छन्।