रेमिट्यान्स भिलेज बन्यो ‘करलिम’

7 October, 2014

गाउँका प्राय: सबै युवा विदेश गएर रकम पठाउन थालेपछि यहाँको एउटा गाउँको नामै परिवर्तन भएको छ। जिल्लाको बिहुँ गाविसको करलिम गाउँमा मासिक करिब दुई करोड रकम विप्रेषणको रूपमा आउन थालेपछि यो गाउँ ‘रेमिट्यान्स भिलेजको’ रूपमा चिनिन थालेको छ। 

वित्तीय कारोबार गर्ने संस्थासमेतले यो गाउँमा दैनिक घरदैलो अभियान चलाएपछि करलिमलाई रेमिट्यान्स भिलेज भन्न थालिएको हो। एक सय ८० घरधुरी रहेको करलिम गाउँका अधिकांश युवा विदेश गएर ठूलो मात्रामा रकम भित्र्याएका हुन्। एउटै गाउँमा यति धेरै रकम भित्रिने गरेपछि सदरमुकाममा रहेका वित्तीय संस्थाका प्रतिनिधि दैनिकजसो आफ्नो संस्थामा खाता खोल्न आग्रह गर्दै घरघरमा आउने गरेको स्थानीय नन्दलाल कँडेल बताउँछन्। विदेश गएका युवामार्फत मासिक दुई करोड रुपैयाँ करलिम गाउँमा भित्रिने गरेको स्थानीय शिवप्रसाद कँडेलले बताए। ‘हरेक घरका युवा विदेश छन्’, कँडेलले भने,’विदेशबाट पैसा पठाएर घर र गाउँकै मुहार फेरिएको छ।’ एकै घरका तीन जनासम्म्म विदेश गएका छन्। 

यस गाउँका करिब एक सय ८० युवा जापान, अमेरिका, आयरल्यान्ड, क्यानडा, सिंगापुर, मलेसिया, कतारलगायतका मुलुकमा गएका छन्। जापानमा मात्र एक सय युवा छन्। हरेकले विदेशबाट आफ्नो घरमा न्यूनतम ५० देखि मासिक तीन लाख रुपैयाँसम्म पठाउने गर्छन्। तर, यो रकम भने प्राय: भौतिक सम्पत्ति खरिद र विलासितामा मात्र खर्च भएको छ। 

स्थानीय आफ्नो गाउँको विकासका लागि सरकारी निकायको मुख ताक्दैनन्। गाउँमा मोटर बाटो, विद्यालयका कम्प्युटर, सामुदायिक भवन, खानेपानीलगायतका काम गर्न करिब ५० लाख रुपैयाँ विदेश गएका युवाले पठाएका छन्।

विदेश गएर मनग्य आम्दानी गरेपछि यो गाउँको आर्थिक, शैक्षिक स्तरले कोल्टो फेरेको छ। युवाले गाउँमा जायजेथा थपेका छन्। बागलुङबजार, पोखरा, काठमाडौं, चितवन, नवलपरासीलगायतका क्षेत्रमा समेत घरजग्गा किनेका छन्। यो गाउँमा हाल वृद्धवृद्धामात्र बस्ने गर्दछन्। युवा बिदेसिएका छन् भने विद्यालय उमेरका सबै बालबालिका र अभिभावक बजार झरेका छन्। 

करलिमेले अहिले आफ्नो व्यक्तिगतमात्र नभएर गाउँको समेत मुहार फेरेका छन्। स्थानीय आफ्नो गाउँको विकासका लागि सरकारी निकायको मुख ताक्दैनन्। गाउँमा मोटर बाटो, विद्यालयका कम्प्युटर, सामुदायिक भवन, खानेपानीलगायतका काम गर्न करिब ५० लाख रुपैयाँ विदेश गएका युवाले पठाएको स्थानीय लीलाधर कँडेलले बताए। ‘गाउँको विकास निर्माण ठूलो सघाउ पुगेको छ’, कँडेलले भने,’गाउँको विकास गर्न विदेशमा नै समूह गठन गरेर लेबी उठाउँछन्।’ जापानमा रहेकाले ‘करलिम जापान सम्पर्क समाज’ समेत गठन गरेका छन्। गएको वर्ष गाउँको विकास गर्न स्थानीय लीलालर कँडेलले ११ लाख, दीपक सुवेदीले गाउँको विकास ६ लाख रु पैयाँ सहयोग गरेका थिए। 

करलिम निमाविमा कम्प्युटर शिक्षाका लागि १० लाख, सामुदायिक भवनमा १२ लाख, रामकोट शिवालय मन्दिरमा ५ लाख, मोटरबाटोलाई १५ लाख, लेखानी त्रिपुरेश्वर मन्दिरलाई ६० हजारलगायत विभिन्न सामाजिक काममा लाखौं रुपैयाँ सहयोग गरेका छन्। राम्रो आम्दानी भएपछि यो गाउँका अधिकांश युवा विदेश जान तयारी गरिबसेका छन्। विदेश गएपछि यहाँका युवाले उतै व्यवसाय समेत सुरु गर्न थालेका छन्। सोही गाउँका प्रेम कँडेलले जापानमा होटेल खोलेर यहाँका युवालाई समेत काममा लगेका छन्। 

युवा वर्ग विदेश पलायनका कारण गाउँघरमा खेतीपाती गर्न र अन्य काम गर्नसमेत समस्या हुने गेको स्थानीय बताउँछन्। गाउँ युवाविहीन बनेको स्थानीय बाबुराम रिजालले बताए। स्थानीय स्तरमा नै उत्पादनशील क्षेत्रमा लगानीको वातावरण नभएको युवाको गुनासो छ। गाउँबाट विदेश गएकाले जिल्लामा लगानीको क्षेत्र खोजिरहेको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष वसन्तकुमार श्रेष्ठले बताए। उनले गलकोट क्षेत्रको जलविद्युत लगानीको सम्भावनाका बारेमा स्थानीयले अध्ययन गरेको जानकारी दिए। 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024