मलेसियाबाट ३७७ को उद्धार

18 September, 2014

मलेसियामा लामो समयदेखि गैरकानुनी रूपमा बसिरहेका ३ सय ७७ कामदारलाई बिहीबार फर्काइँदै छ। नेपाल र मलेसिया सरकारको सहकार्यमा उनीहरूलाई उद्धार गर्न लागिएको हो।

‘मलेसियाका मानव संसाधनमन्त्रीले नेपाल भ्रमणका बेला गैरकानुनी कामदार फर्काउन सहयोग गर्न प्रतिबद्धता जनाएका थिए,’ श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले भने, ‘उहाँ फर्केपछि मलेसियामा गैरकानुनी नेपाली कामदारलाई केही खुकुलो पनि गरिएको छ र फर्किन सहयोग पनि गरिएको छ।’ मलेसियाका मानव संसाधनमन्त्री रिचर्ड रियट जायम भदौ २ देखि ४ सम्म तीनदिने नेपाल भ्रमणमा आएका थिए। त्यतिबेला राज्यमन्त्री गुरुङले गैरकानुनी नेपाली कामदारमाथि धडपकड नगर्न र स्वदेश फर्किने वातावरण मिलाउन आग्रह गरेका थिए।

उद्धार गरिएका कामदारलाई लिन त्रिभुवन विमानस्थलमा राज्यमन्त्री गुरुङ आफैं जाने भएका छन्। मलेसियाका लागि नेपाली राजदूत निरञ्जनमानसिंह बस्न्यात र एनआरएन मलेसियाका सल्लाहकार हरि भट्टराई पनि कामदारसँगै नेपाल आउँदै छन्। 

कामदार फर्काउने काममा भट्टराईले सहयोगी भूमिका खेलेका हुन्। यसअघि गैरकानुनी कामदार नेपाल फर्किन दलाललाई ५० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म बुझाउनुपर्ने अवस्था रहेको भट्टराईले बताए। ‘अहिले कोप्रासी इमिग्रेसन मलेसियाको सहयोगमा मलेसियाको अध्यागमनले नेपाली दूतावासमै कार्यालय खोलेको छ,’ उनले भने, ‘४० हजार ५ सय रुपैयाँमा एक जना नेपाली कामदार नेपालमै आइपुग्छन्।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024