कुवेतमा यौन शोषणमा फसाउने पक्राउ

18 September, 2014

हाउसमेडको रोजगारी दिलाउने भन्दै कुवेत पुर्‍याएर यौन शोषणमा फसाउने एक फरार अभियुक्तलाई बाँके प्रहरीले पक्राउ गरेको छ। कोहलपुर ८ का ३६ वर्षीय भीमबहादुर दमाई पक्राउ परेका हुन्। आकर्षक तलब, भत्तासहितको काम दिलाउने प्रलोभनमा पारेर उनले कोहलपुरकी एक विवाहित महिलालाई यौन शोषणको चंगुलमा फसाएको प्रहरीले जनाएको छ। गत वर्ष पुस ५ मा कुवेत पुगेकी ती महिला फागुन २९ मा स्वदेश फर्किन सफल भएकी हुन्। 

तीन महिनासम्म एक कुवेती साहुको घरमा यौन शोषणमा परेकी उनले फर्केपछि आफूलाई त्यस्तो दलदलमा फसाउने भीम र मानसिंह दमाईविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन्। त्यही बेला पक्राउ परेका मानसिंह पुर्पक्षका लागि कारागार छन्। फरार रहेका भीमलाई प्रहरीको विशेष टोलीले मंगलबार पक्राउ गरेको इलाका प्रहरी कोहलपुरका डीएसपी जनक शाहीले बताए। प्रहरीका अनुसार अभियुक्तद्वयले एक म्यानपावर कम्पनीमार्फत उनलाई कुवेत पठाएका थिए। पुग्नासाथ घर मालिकले जबर्जस्ती यौन शोषण गर्न थाले। प्रतिकार गर्न खोज्दा ‘यही कामका लागि तँलाई किनेको हो’ भन्दै घर मालिकले ज्यान मार्नेसम्मका डर, धम्की दिएको पीडितको बयानमा उल्लेख छ। 

मालिकबाट फुत्किएर कोहलपुरस्थित घरमा पतिलाई फोन गर्न भ्याएकी महिलाले रुँदै आफू नसोचेको ठाउँमा फसेको बताएकी थिइन्। उनका पतिले अभियुक्तद्वयविरुद्ध प्रहरी र प्रशासनमा निवेदन दिएका थिए। प्रशासनको तीव्र दबाबपछि उनीहरूले म्यानपावर कम्पनीमार्फत उनलाई स्वदेश फर्काउन पहल गरेका थिए। यसअघि कञ्चनपुरकी एक युवती पनि कुवेतमा बेचिएकी थिइन्। स्वदेश फर्किन सफल उनले त्यसरी कुवेत पठाउनेविरुद्ध उजुरी गरेकी थिइन्। दमाईद्वयले यसअघि पनि महिलालाई अवैध रूपमा भारत हुँदै खाडी पुर्‍याउने गरेको फेला परेको प्रहरीले जनाएको छ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024