भारतीय सेेनाको गोर्खा रेजिमेन्टमा भर्ना हुन विभिन्न जिल्लाबाट नेपालगन्ज आएका युवा उचाइ नाप्दै। पाँच सय जनाको कोटामा करिब १० हजारले निवेदन दिएका छन्। नेपालगन्जको महेन्द्र रंगशालामा छनोट प्रक्रिया जारी छ। आकर्षक पारिश्रमिक र सेवा सुविधाले युवाको मोह बढेको हो। स्वदेशमा बेरोजगारी समस्याले उनीहरू विदेशिने गरेका छन्। ‘सरकारी जागिरका लागि धेरै ठाउँमा प्रयास गरियो तर काम पाइएन,’ रूपन्देहीका सुरेश रानाले भने, ‘नेपाल प्रहरी, सशस्त्र र सेनामा भर्नाका लागि गइयो, पास नभएपछि यहाँ आएँ।’ हजारौं नेपाली युवा भारतीय सेनामा कार्यरत छन्। ‘यहाँ उद्योगधन्दा केही छैन, सरकारी सेवामा स्वस्थ प्रतिस्पर्धा छैन,’ सुर्खेतका रामबहादुर बुढाले भने, ‘भारतीय सेनामा भर्ती हुँदा पक्षपात हुँदैन भनेको सुनेको छु।’ त्यहाँ कामको कदर हुने विश्वास उनको छ।