कोरियन भाषा परीक्षा: ६२ हजार ५ सय १४ जनाले भरे फारम

16 August, 2014

कोरियन भाषा परीक्षामा सामेल हुन ६२ हजार पाँच सय १४ जनाले आवेदन दिएका छन्। यो संख्या गत वर्षभन्दा करिब १४ हजारले बढी हो। आकर्षक कमाइ हुने भएकाले बर्सेनि दक्षिण कोरिया जान चाहने कामदारको संख्या बढ्दोक्रममा छ। भाषा परीक्षामा सामेल हुनका लागि गत बुधबारदेखि आवेदन खुला गरिएको थियो। चार दिनमा ६२ हजारभन्दा बढीले फारम बुझाएका हुन्। फारम बुझाउने म्याद शनिबार सकिएको छ। अब असोजमा भाषा परीक्षा हुनेछ।

ईपीएस कोरिया शाखाले उपत्यकाका तीन र बाहिर चार स्थानबाट फारम बुझाउन पाउने व्यवस्था गरेको थियो। सात स्थानमध्ये सबैभन्दा धेरै आवेदन काठमाडौंको सीतापाइला केन्द्रमा परेको छ। यो केन्द्रबाट कुल १३ हजार तीन सय ८० जनाले फारम बुझाएका हुन्।

ईपीएस कोरिया शाखाका प्रमुख डिल्ली बास्तोलाले यसपटक सबैभन्दा धेरै आवेदन परेको जानकारी दिए। रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कामदार कोरिया पठाउन यो पाँचौं पटक आवेदन खुला गरिएको हो। फारम बुझाउने समयमा चर्को वर्षा भएकाले धेरैले दु:ख पाए। आगामी वर्षदेखि अनलाइनबाट फारम भराउने तयारी गरिएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024