इराकमा रहेका नेपालीलाई सरकारले फर्काउने

25 June, 2014

परराष्ट्र मन्त्रालयले इराकमा रहेका नेपालीलाई सकुशल स्वदेश फर्काउने कामका लागि परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको विशेष प्रतिनिधिका रूपमा सहसचिव अर्जुनकान्त मैनालीलाई खटाएको छ।

इराकमा हिंसात्मक घटना वृद्धि भएपछि त्यहाँ रहेका नेपाली अप्ठ्यारोमा परेका छन्। इराकमा विकसित गम्भीर अवस्थालाई ध्यानमा राखी उद्धार कार्यलाई तदारुकता र समन्वयात्मक रूपमा अघि बढाउन मन्त्रालयले मैनालीलाई खटाएको हो। मैनालीले कुवेतस्थित नेपाली दूतावासमा मुकाम बनाई आवश्यकताअनुसार अन्य मुलुक भ्रमण गरी तोकिएको जिम्मेवारी पूरा गर्ने मन्त्रालयले जनाएको छ।

इराकमा विकसित घटनाक्रमले त्यहाँ रहेका नेपालीमा पारेको प्रभावका विषयमा मन्त्रालयले गम्भीरतापूर्वक अध्ययन तथा अनुगमन कार्यलाई जारी राखेको बताएको छ। ‘यसै सन्दर्भमा इस्लामाबाद तथा कुवेतस्थित नेपाली दूतावासले उद्दारको आवश्यकतामा रहेका नेपालीको विषयमा संकलित सूचना र सम्पादित समन्वयका विषयमा परराष्ट्र मन्त्रालयमा सूचना प्राप्त भइरहेको छ’, मन्त्रालयले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ, ‘परराष्ट्रमा जडान गरिएको टोल फ्रि नम्बर १६६०-०१-००१८६ मा नेपालभित्र र बाहिरबाट इराकमा रहेका नेपालीका विषयमा सूचना प्राप्त हुने क्रम जारी छ। परराष्ट्र मन्त्रालय उल्लिखित माध्यमबाट सम्बद्ध सूचना उपलब्ध गराई उद्धार कार्यलाई सहयोग गर्न सर्वसाधारण नेपालीलाई पुन: अनुरोध गर्दछ।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024