रोजगारीका लागि जेठमा मात्रै ५५ हजार विदेसिए

24 June, 2014

चालू आर्थिक वर्षको जेठ महिनामा वर्षमै सबैभन्दा धेरै युवा रोजगारीका लागि विदेश गएका छन्। सरकारी तथ्यांकअनुसार जेठमा कुल ५४ हजार नौ सय २६ जना युवा बिदेसिएका छन्। आन्तरिक बजारमा रोजगारीका अवसर सिर्जना हुन नसकेपछि युवा पलायन हुने क्रम बढेको हो। तथ्यांकले प्रत्येक वर्ष वैदेशिक रोजगारीमा जानेको संख्या बढेको देखाएको छ।

गत वर्षसँग तुलना गर्ने हो भने पनि जेठ महिनामा काम गर्न विदेश जानेको संख्या २१.०३ प्रतिशतले बढेको छ। गत वर्ष जेठमा जम्मा ४५ हजार तीन सय ८३ जना नेपाली युवा काम गर्न बिदेसिएकामा यस वर्ष सोही महिनामा ५४ हजार नौ सय २६ जना पुगेका छन्। अघिल्लो महिना वैशाखमा पनि काम गर्न विदेश जानेको संख्या ३७.९१ प्रतिशतले बढेको थियो। प्रत्येक महिना कामको खोजीमा युवा पलायन हुन थालेकाले ग्रामीण क्षेत्रमा काम गर्न सक्ने उमेरका व्यक्ति पाउन कठिन हुन थालेको छ।

अर्थविद्ले यो प्रवृत्तिले दीर्घकालमा मुलुकलाई नकरात्मक असर गर्ने बताएका छन्। तत्कालका लागि बिदेसिएका युवाले पठाएको रेमिट्यान्सले मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव पारे पनि यसबाट दिगो लाभ लिन नसकिने भएकाले युवालाई स्वदेशमै रोजगारी दिने नीति तथा कार्यक्रम ल्याउन उनीहरूले सुझाउ दिँदै आएका छन्। आन्तरिक बजारमा रोजगारीका अवसर सिर्जना हुन नसकेपछि युवा पलायन हुने क्रम बढेको हो। तथ्यांकले वैदेशिक रोजगारीमा जानेको संख्या प्रत्येक वर्ष बढेको देखाएको छ।

संस्थागतरूपमा बिदेसिनेको संख्या ह्वात्तै बढे पनि व्यक्तिगत रूपमा जाने भने जेठमा घटेका छन्। अघिल्लो वर्षको सोही अवधिको तुलनामा यसपटक व्यक्तिगत रूपमा काम गर्न विदेश जानेको संख्या ४४.५७ प्रतिशतले घटेको हो। वैदेशिक रोजगार विभागले उपलब्ध गराएको तथ्यांकअनुसार गत वर्ष जेठमा व्यक्तिगत तबरले १५ सय ९३ जना नेपाली काम गर्न विदेश गएकामा यस वर्ष सोही महिना जम्मा आठ सय ८३ जनामात्र गएका छन्। सरकारले व्यक्तिगत श्रम स्वीकृतिमा घरेलु कामदारका रूपमा विदेश जान रोकेपछि त्यसको प्रत्यक्ष प्रभाव देखिएको हो। विगत केही महिनादेखि घरेलु कामदारलाई विदेश जान रोकिएको छ।

देशगत आधारमा अध्ययन गर्दा यसपटक पनि सबैभन्दा धेरै कामदार मलेसिया गएका छन्। जेठमा २४ हजार आठ सय २२ जना त्यहाँ गएका हुन्। केही वर्षयता धेरै कामदार जानेमा मलेसिया पहिलो स्थानमा पर्दै आएको छ। बहुराष्ट्रिय कम्पनी खुल्ने क्र म बढेको तथा तुलनात्मक रूपमा काम गर्न सजिलोसमेत भएकाले यो मुलुकमा जाने कामदारको संख्या बढेको हो। मलेसियापछि नेपाली कामदारको दोस्रो रोजाइमा कतार परेको छ। यो मुलुकमा कुल १२ हजार सात सय ३५ जना कामदार पुगेका छन्। धेरै कामदार जाने तेस्रो मुलुकमा साउदी अरब छ। साउदीमा नौ हजार एक सय ३१ जना नेपाली युवा जेठमा मात्र गएका छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024