दसैँ–तिहारसहित चाडपर्वका वेला यात्रुको चापलाई लक्षित गरेर प्रहरीले सुदूरपश्चिमका २७ ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरी सञ्चालनमा ल्याएको छ । चाडबाडको मौका छोपेर बढी भाडा असुल्नेजस्ता यात्रुलाई यात्राका क्रममा तत्काल परेका समस्या सम्बोधन गर्ने उद्देश्यले सहायता कक्ष सञ्चालनमा ल्याइएको हो । कैलालीमा १०, कञ्चनपुरमा आठ र बाँकी सुदूरपश्चिमका पहाडी जिल्लामा रहेका प्रदेश प्रहरी कार्यालयले जनाएको छ । चाडबाडका वेला भारतबाट घर फर्कने नेपालीको अत्यधिक भिड हुने त्रिनगर, गड्डाचौकी नाकामा पनि सहायता कक्ष सञ्चालनमा छन् । सहायता कक्षमा नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोली खटिएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन प्रादेशिक कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले यात्रु र सवारीसाधनको बढी भिड हुने बसपार्क, सीमानाकालगायत क्षेत्रमा सहायता कक्ष सञ्चालनमा ल्याइएको बताए । यात्राका क्रममा भोग्नुपरेका समस्या सहायता कक्षमा राख्न सक्ने व्यवस्था गरिएको उनले बताए ।
सवारीसाधनले बढी भाडा लिएको, ठगिएको, टिकट काटेर पनि सिट नपाएको जस्ता गुनासा यात्रुले सहायता कक्षमा गर्न सक्ने व्यवस्था गरिएको छ । ‘भाडालगायत यात्रुका तत्कालका समस्या सहायता कक्षबाट तत्काल रेस्पोन्स गर्छौँ,’ प्रहरी उपरीक्षक नवराज कार्कीले भने, ‘क्षमताभन्दा बढी यात्रु र सामान हाल्न नदिन प्रदेशभरि नै चेकजाँच बढाएका छौँ ।’ दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियम कार्यान्वयनमा कडाइ गरिएको उनले बताए ।
सुदूरपश्चिमको प्रवेशद्वारका रूपमा रहेको अत्तरियास्थित बसपार्कमा आइतबारबाट सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । सहायता कक्षको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सानुराम भट्टराईले चाडबाडका वेला यात्रुको चाप बढ्ने भएकाले यात्रामा सहजताका लागि प्रदेशभरि नै सहायता कक्ष सञ्चालनमा ल्याइएको बताए । भिडभाडको मौकामा नियमविपरीतका कार्य हुन नदिन सुरक्षा सतर्कता अपनाइएको उनले बताए । विगतमा दसैँका वेला यात्रु सहायता कक्ष सञ्चालन हुने गरेकामा यसपालि भने दसैँ सुरु हुनु एक–डेढ हप्ताअघिदेखि नै सहायता कक्ष सञ्चालनमा ल्याइएका छन् ।
भाडा नलिने, काउन्टरबाट मात्र टिकट काट्ने
चाडपर्वमा यात्रुको चाप बढेको मौकामा यातायात व्यवसायीले चर्को भाडा असुल्ने गरेको गुनासोबारे ट्राफिक प्रहरले यातायात व्यवसायीसँग छलफल गरिसकेको छ । यातायात व्यवसायीले तोकिएको भन्दा बढी भाडा नलिने, काउन्टरबाट मात्र टिकट काट्ने, काउन्टरमा कर्मचारीले परिचयपत्र लगाउने सहमति गरेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन प्रादेशिक कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले बताए ।
लामो दूरीमा दुईजना चालक राख्ने व्यवस्थालाई कडाइ गरिनुका साथै कुनै कारणले गाडी बिग्रिए यात्रुलाई वैकल्पिक सवारीबाट गन्तव्यमा सम्बन्धित व्यवसायीले नै पुर्याउने सहमति यातायात व्यवसायीसँगको छलफलमा भएको ट्राफिक प्रहरीले जनाएको छ ।
बढी सवारीसवारी आवागमन हुने कैलालीको गोदावरी, डडेल्धुराको स्याउले, डोटीको पिपल्ला र अछामको साँफे गरी चार ठाउँलाई विशेष निगरानीमा राखेर सवारी चेकजाँच कडा पारिएको ट्राफिक प्रहरीले जनाएको छ । चाडबाडका वेला भारतबाट घर फर्कने नेपाली मजदुरको यहाँका प्रमुख दुई नाका त्रिनगर र गड्डाचौकीमा ठुलो भिड लाग्ने गर्छ । त्रिनगर नाकाबाट धनगढी बसपार्कसम्म पुर्याउँदा रिक्साचालकले भारतबाट घर फर्कनेलाई ठग्ने गरेका घटना हुने गरेका छन् । उक्त रुटमा ५० रुपैयाँ भाडा तोकिएमा एक हजार चार सय भारु असुल्ने एक रिक्साचालकलाई प्रहरीले हालै पक्राउ गरेको थियो । प्रदेश प्रहरी कार्यालयका अनुसार अनियमित गतिविधि नियन्त्रण गर्न नाकामा सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको छ ।