रोजगारीको सिलसिलामा प्रवास गएका नेपालीहरू चाडपर्व मनाउन स्वदेश फर्कन थालेका छन् । उनीहरू भारतबाट दसैँतिहार मनाउनका लागि स्वदेश फर्कन थालेका हुन् । सुदूरपश्चिम प्रदेशको अधिकांश युवा रोजगारीका लागि भारत जाने गर्छन् ।
यतिबेला गौरीफन्टा नाका भएर नेपाल फर्केनेहरूको भिड दिनहुँ बढ्न थालेको छ । दैनिक सयौँ नेपाली भारतबाट फर्किरहेको नाकामा रहेका सुरक्षाकर्मी बताउँछन् ।
भारतको ‘सपनाको सहर’ मुम्बईमा काम गर्दै आउनुभएका डोटीको गोरे विकले चाडपर्व मनाउनका लागि घर फर्केको बताउनुभयो । गौरीफन्टा नाकामा भेटिनुभएका उहाँले आफू विगत छ वर्षदेखि मुम्बईमा काम गर्दै आएको बताउनुहुन्छ ।
विक भन्नुहुन्छ, “गाउँघरमा आम्दानीको स्रोत नभएपछि परिवार पाल्नका लागि मुम्बईमा काम गर्न थालेको हुँ । दसैँतिहार मनाएर पुनः फर्किन्छु ।” स्वदेशमा पर्याप्त रोजगारीको अवसर नहुँदा हजारौँ नेपाली भारतको विभिन्न सहरमा गएर काम गर्दै आएका छन् । उनीहरूमध्ये कोही छोटो अवधिका लागि काम गर्न जाने गरेका छन् भने धेरै जसो व्यक्ति लामो अवधिदेखि काम गर्दै आएका छन् । आफ्नो खेतीपातीको काम सकेपछि छोटो अवधिका लागि भारतको सिम्ला गएका कैलालीको भजनी नगरपालिकाका सुजन चौधरीले अढाई महिना काम गरेर फर्केको बताउनुभयो ।
उहाँ आफ्नो रोपाइँ सकेर सिम्लामा स्याउ टिप्न गएको बताउनुहुन्छ । उहाँ अब आफ्नो खेतको धान काट्ने चाडपर्व सकेर पुनः उतै जाने बताउनुहुन्छ । उहाँले आफूहरू समूह नै बनाएर भारत गएको बताउनुहुन्छ ।
नेपालीहरू फर्कने क्रममा सीमापारि भारतीय कस्टमका अधिकारी र सीमावारि अटोरिक्साचालकले अनावश्यक दुःख दिने, गैरकानुन पैसा असुल्ने, ठग्ने गरेका घटना पनि बर्सेनि सार्वजनिक हुने गरेका छन् । भारतबाट फर्किरहेका नेपालीले नाकामा त्यस्तो समस्या भोग्न नपरोस् भनेर प्रहरीले सुरक्षा सतर्कता बढाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रो विभिन्न संयन्त्र परिचालन गरेर हामीले सतर्कता अपनाएका छौँ । केही समयअगाडि मात्रै बढी पैसा असुल्ने अटोचालकलाई पक्राउ गरेर कारबाही पनि गरिसकेका छौँ ।”